
अजित आचार्य
व्यास-९ कलेस्ती, तनहुँ
हाल- मातातिर्थ, काठमाडौं
उसले हेर्यो। उनीले पनि हेरिन्। दुवैजना हेराहेर गरे। मख्ख परे।
सम्बन्धको अंकुरण देखादेखबाट शुरु हुन्छ भन्ने अनुमान दुवैले गरे।
ऊ बाटो वारी हिँड्दै छ। उनी बाटो पारी हिँड्दैछिन्।
उसले बाटो पारी यस्तै अर्की युवतीलाई पनि देख्यो। उसैगरी हेर्यो र मख्ख पर्यो।
उनले पनि बाटोपारी अर्को युवकलाई देखिन्। उसैगरी हेरेर मख्ख परिन्।
विपरित लिङ्गप्रतिको आकर्षणलाई दुवैले स्वाभाविक मानवीय प्रतिक्रिया मानेका छन्।
भेटेर बोल्ने, सँगसँगै हिड्ने चाहना दुवैको छ तर व्यक्त गर्न सक्दैनन्। किनभने उनीहरूका बिचमा व्यस्त सडक छ। सडक अर्थात समाज छ। आ-आफ्ना समाजिक मर्यादा र जिम्मेवारीहरू छन्। चाहेर पनि उनीहरू एकापसमा भेटेर सँगै हिड्न सक्दैनन्। बाटोमा भेटेकाहरू सबैसँग सँगसँगै हिड्न सम्भव पनि छैन भन्ने बुझाइ दुवैजनामा रहेको छ।
“बाटोभर यस्ता मान्छेहरू भेटिरहन्छन्, कति जनालाई आँखा लगाउँदै हिँड्छौ बुढा?”
सँगसँगै हिडेकी उसकी श्रीमती बोली। ऊ लाजले रातोपिरो भयो।



