Categories: बाल कथा

साँढेको घमण्ड

देवकी के.सी.

एउटा गाउँमा कालो रङ्गको शरीरभरि सेता धब्बा भएको साँढे थियो । साँढे निकै मोटो र बलियो थियो । साँढेका सिङ तीखा र लामा थिए । साँढे निकै बलवान र हेर्दै डरलाग्दो थियो । साँढेको मालिकले उसलाई जोत्न नभई प्रजननको लागि मात्र पालेको थियो। ऊ ठुलो स्वरमा तर्सने गरि कराउँथ्यो । उसको आवाज सुनेर अन्य जनावर र मानिसहरु खुब डराउँथे । साँढेलाई बाटोमा हिडिरहेको देखे डरले सबै मानिसहरु भाग्थे । मालिकले उसलाई निकै तागतिलो खानेकुरा खान दिएर पालेको थियो ।
आफ्नो साँढे बलवान भएको र सबै ऊ सित डराएको देखेर साँढेको मालिक निकै खुसी थियो । साँढेलाई पनि आफ्नो बलको निकै घमण्ड थियो । साँढे चउरको घाँस आफुमात्र खान खोज्थ्यो । चउरमा घाँस खाइरहेका गाई ,भैँसी र बाख्रीलाई ऊ कराएर र उफ्रेर लखेट्थ्यो । ऊ सित गाई , बाख्री र भैसी निकै रिसाएका थिए । साँढे आफुलाई बलवान देखाउन सधैँ चउरमा बुर्कुसि मार्दथ्यो ।
साँढेसँग डराएर अलि पर गाई ,भैसी र बाख्री एकै ठाउँमा जम्मा भएर कुरा गर्न थाले । चउरको हरिया लामो लामो घाँसजति साँढे छिटो छिटो आफैँ खान्छ । अस्ति मैले घाँस खाइरहेको ठाउँमा आएर साँढेले आफ्नो तीखो सिङले घोचेर झण्डै मेरो पेटमा प्वाल पारिदिएको नि बाख्रीले गाई र भैँसीलाई भनिन् । संसारको बलियो म मात्र हो भन्ने सोचेको छ यो साँढेले । त्यसैले उफ्रेर हामीलाई खेदाउँदा त्यसको मालिक मख्ख परेर बस्छ —गाई र भैँसीले एकैसाथ भने ।
एकदिन साँढे चउरमा सबैलाई खेदाउन जोश निकालेर उफ्रदै कराउँदै थियो । अनायसै उसका गोडा चिप्लिएर चउरबाट तल ठुलो खोल्सामा लड्यो । साँढे निकै मोटो भएको कारण हत्तपत्त उठ्न सकेन । साँढेको पछाडिको गोडा भाँचियो । गोडा भाँचिएको दुखाइले बलवान साँढेको आँखाबाट आँशु बग्न थाले ।
साँढे उठेर हिड्न नसकेपछि साँढेको मालिकले आठदश जना बलिया मानिस लगाएर बलिया बाँसको सहायताले उचालेर बल्लतल्ल साँढेलाई घरमा लग्यो । साँढेको हालत देखेर बाख्रीले भनिन् —हेर त यस्तो बलवान साँढे पनि अरुले बोक्नु परेको । कति न म बलियो छु भनेर चटक देखाएजस्तो उफ्रदै हामीलाई तर्साउथ्यो । भैँसीले पनि बाख्रीको कुरामा सहमति जनाउँदै भनिन् — ठिक भन्यौ बाख्री तिमीले सबै चउरको घाँस मेरो मात्र हो भनेर हामीलाई लखेट्थ्यो नि । अब त यो चउरको घाँस हामीले मात्र खान पाउने भयौँ ।
गाईलाई भने बाख्री र भैँसी दुबैको कुरा मन परेन । गाईले उनीहरुलाई भनिन् —साँढे बलमा निकै घमण्ड गर्दथ्यो । त्यसैले ऊ सधैँ हामीलाई दुःख दिने गर्थ्यो । तर बल भएर के गर्नु आज ऊ आफनैँ गोडामा उभिन सकेन । आपत विपत भन्ने कुरा सबैलाई आइलाग्न सक्छ । त्यसैले साँढेलाई यस्तो अवस्थामा हामीले गाली नगरौँ । गाईको कुरा बाख्री र भैँसीलाई पनि ठिकै लाग्यो ।
साँढेको मालिकले साँढेलाई घर लगेर निकै उपचार त गर्यो । तर पनि उसका गोडा पहिलेका जस्ता बलिया हुन सकेनन् । साँढेको मालिकले पनि उसलाई पहिलेको जस्तो तागतिलो खानेकुरा खुवाउन पनि छाड्यो । साँढे पनि निकै दुब्लाउँदै गयो । मालिकले पहिलेको जस्तो साँढेको हेरविचार गर्न छाड्यो । मालिक सधैँ साँढेलाई फुकाएर चउरतिर लखेट्ने र आफु भनेघरमै बस्न थाल्यो ।
साँढे एउटा गोडा लतारेर हिड्ने गर्दथ्यो । जति उपचार गरे पनि एउटा गोडा राम्रो हुन नसक्दा मालिकले उसलाई पनि हेला गर्न थालेको थियो । एउटा गोडाको राम्रो भर नभएपछि गोडा लतारेर भएपनि ऊ चउरको घाँस खान्थ्यो । तर उसमा पहिलेको जस्तो म बलवान छु भन्ने घमण्ड थिएन । पहिलेजस्तो ऊ चउरको घाँस सबै मेरो मात्र हो भनेर गाई ,भैँसी र बाख्रीलाई लखेट्दैनथ्यो । साँढेले उनीहरुलाई पनि असल साथी सोच्न थालेको थियो ।
एकदिन साँढेले उनीहरुसित भन्यो —म पहिले बलको निकै घमण्ड गर्थे । मालिकले पनि म बलियो हुँदा निकै माया गर्थ्यो तर अहिले मलाई पेटभरि खान पनि दिँदैन । कुटेर खेदाउँछ । बलले संसार जित्न सकिन्छ भन्ने मेरो गलत सोचाईले गर्दा मैले तिमीहरु जस्तो असल साथीहरुलाई सधैँ दुःख दिन्थे । बलको घमण्ड गरेर बाँच्नु भन्दा त सबैसँग मिलेर बस्नु वेश हुँदो रैछ । साँढेको कुरा सुनेर उनीहरु निकै खुसी भए तर मालिकले उसलाई हेला गरेको सुनेर भने निकै दुखित भए ।
त्यसपछि उनीहरु सबैले एकैसाथ भने —बल भन्ने कुरा त क्षणिक पो रहेछ । बलमा घमण्ड गर्नु व्यर्थ पो रहेछ । त्यसैले बाँचुन्जेल सबैसँग मित्रता गाँसौँ र खुसीले बाँचौँ । त्यसपछि उनीहरु सधैँ चउरमा मिलेर घाँस खान थाले । आजभोलि उनीहरु एक अर्का सित डराएर होइन मिलेर हाँसीखुसी बस्न थालेका छन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

17 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

18 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

18 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago