
कुमार दाहाल
उदयपुरगढी, मैनाटार
समाज अन्धकारमा छ चेत खुलाउनु छ । भाषा जाने पो ज्ञान बढ्छ भन्दै भानुले धर्मपत्नीलाई सम्झाउदै भने । “लौ लौ हजुरको सोचलाई म कसरी मार्न सक्छु ” धर्मपत्नीले भनिन् । भानु हातमा खुकुरी भिरेर बाँसको कलम बनाउन जङ्गलतिर हिडे।
आउनसाथ धर्मपत्नीले पल्लो गाँउका भैरव काका सत्य नारायणको पूजाको टुङ्गो गर्न आएको कुरा बताइन्। “पारि कान्लाबाट अङ्गेरी ल्याएर मसी बनाउनु थियो समय घट्किसक्यो ” भानुले जवाफ फर्काए। “त्यति काम त म गरुँला नि संस्कृतिको रक्षा गर्नै पर्यो “धर्मपत्नीले आड दिने भाषामा बोलिन्।
भानुले सोधे, “कहिलेको ठेगान गर्यौ त।” धर्मपत्नीले भनिन् , ” मैले त आजैको ठेगान पो गरिदिएँ ।” सबै सामान ठिक पारेर राख्नु भन्दै भानु झोलामा सत्य नारायणको किताब लिएर हिडे।
पूजा सकेर हत्तार हत्तार गर्दै आएर भानुले पोका धर्मपत्नीको हातमा थमाइदिए अनि रामायण अनुवाद गर्न बसिहाले पनि । धर्मपत्नी नजिकै आएर मधुर स्वरमा बोलिन् , ” ए अब त म पनि पढ्न सक्छु जस्तो छ सरल भाषा सबैले बुझ्ने भाषा रहेछ ।” कखरा मात्र सिकेकी धर्मपत्नीको कुराले भानु गद्गद भए।
भानुले भने , ” यो सबैको सरल नेपाली भाषा यही भाषाले हिमाल, पहाड , तराई अनि बाइसे चौबिसे राज्यलाई जोड्नुपर्छ । अशिक्षा र अन्धकारलाई हटाएर चेतनाको दियो बाल्नुपर्छ।
धर्मपत्नीले थपिन् , ” ठिकै कुरा हो भाषा सबै जनताले बुझ्नुपर्छ , फेरि यसमा त ज्ञान, गुण, चेतना, संस्कार , व्यवहार इत्यादिको पनि सुगन्ध रहेछ ।”
भानुले थपे, ” यो रामायण सब नेपाली जनको हातमा दिनु छ, सरल सञ्चारको संवाहक बनाउनु छ, अनि एकत्वको भावमा नेपालीलाई जोड्नु पनि छ।”
छेउमै आएर धर्मपत्नीले गुनगुनाउँदै सुरिलो स्वरमा भनिन् , ” भानु तिमी स्रष्टा रहेछौ सृष्टि गर्न नथाक्ने , आफ्नो रचनामा परिवार,समाज अनि देशको मुहार देख्ने।”





