
रचना शर्मा
‘हो हो माले हो हो, हो हो तारे हो हो …!’ हिरालालले मन्त्रमुग्ध भएर एफ एममा गीत सुनिरहेका थिए । नातिनी नजिकै आइन् र भनिन् , “हजुरबुवा ! लिनुस् खाजा !” फलफूल, दही, चिउरा र तरकारीले सजिएको खाजाको प्लेट देखेर हिरालालले सोधे, “आज यस्तो विशेष खाजा ल्याउनुको कारण के हो नानी ?”
“ल…, हजुरबुबालाई यत्ति पनि थाहा रहेनछ । आज त धान दिवस हो नि । मानो रोपेर मुरी उब्जाउने दिन । यो दिनमा यस्तै खाजा खाने चलन छ ।”
“यति सानी मान्छेलाई यस्तो कुरा कसरी थाहा भो ?” हिरालालले बुझ्न चाहे ।
“हाम्रो नेपाली विषयको किताबमा असार पन्ध्रको बारेमा यस्तै यस्तै कुरा लेखेको छ नि हजुरबुवा !” नातिनीले जवाफ दिइन् । फेरि नातिनीले मुसुक्क हाँस्दै भनिन् “हजुरबुवा ! मैले र मम्मीले संस्कृतिलाई जोगाउनुपर्छ भनेर धान पनि रोप्यौँ ।”
नातिनीको कुराले हिरालाललाई केही वर्ष अगाडिको घटना स्मरण गरायो । बुहारीले भनेकी थिइन् , “यस्ता खेत रोपेर को बस्छ यो गाउँमा ? सब बेचबाच पारेर सहरमा बस्नुपर्छ !”
नातिनीतर्फ हेरेर हिरालालले सोधे, “नानी! संस्कृति जगेर्ना गर्नको लागि धान रोप्न कहाँ गयौ त तिमीहरू ?” “उ … त्यहाँ !” नातिनीले कौसीमा रहेको गमलातिर देखाइन्।





