
प्राडा खेमराज खनाल
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी
मङ्गली मन्दिरबाहिर कराइरहेकी थिई, “हजुर, गरिबलाई दया गर्नुहोस् ।” सुवर्णसिंह सरासर भित्र गयो । मन्दिरमा भिड थियो । पुजारीलाई पाँच सय दियो । भीआइपी ढोकाबाट भित्र पस्यो । देउतालाई सुनको प्रतिमा चढायो । पुजारी खुसी भयो । सुवर्णसिंहको मनोकामना पुरा भएन । देउताप्रति विश्वास उड्यो।
शङ्कर मन्दिर गयो। उसले फल, फूल र चामल बोकेको थियो। मन्दिर उस्तै भिड रहेछ । पुजारीलाई चढाउने पैसा थिएन। साइनबोर्डमा लेखिएको थियो, “भगवान् सबैतिर छन् । हृदयले हेर ।” मङ्गली कराइरहेकै थिई । शङ्करले उसैलाई फल, फूल र चामल दियो । मङ्गलीको बिरामी लोग्ने र बालख छोरालाई दुई छाक जोहो भयो । भगवान् साह्रै खुसी भए । शङ्करको मनोकामना पुरा भयो । साइनबोर्डको भनाइप्रति विश्वास लाग्यो।





