
ध्रुवराज थापा ‘पुरूष’
पनौती-४, काभ्रे , हालः कपन, काठमाडौँ
“ए छोरी उठ ! उठ !! ए छोरी ! छोरी !!” मस्त निद्रामा रङ्गीन सपनामा हराइरहेकी छोरी आमाको बोलावटले झस्किइन् र सोधिन्, “के भयो आमा किन बोलाउनु भएको? के भयो ?”
“पहिला उठ न अनि थाहा पाइहाल्छ्यौ नि किन रहेछ भनेर!” भन्दै आमाले सुतेका जति सबैलाई पालैपालो उठाउनु भयो । आँखा मिच्दै सबै आमाको छेउमा आए । छोरीले सोधिन्, “हामीलाई किन उठाउनु भएको? कस्तो मिठो निद्रा परेको थियो । अब निदाउनै गारो पर्छ, के भयो आमा ?”
“आज तीजको अघिल्लो दिन, तिमीहरुलाई सक्कली दर खुवाउन उठाएकी नि !” आमाले कारण खोल्नु भो !
छोरीले आश्चर्य व्यक्त गरिन्, “आमा हामीले एक महिनादेखि दर भनेर खाँदै आएको चाँही के त ?
आमाले भन्नुभयो, “त्यो दर होईन छोरी ?”
“दर नभए के हो त त्यो ?” छोरीले जिज्ञासा राखिन् ।
आमा बोल्नुभयो, “त्यो सबै संस्कार र संस्कृतिमा पलाएको ऐजेरुमात्र हो !”





