
नन्दलाल आचार्य
“उज्यालोदेखि किन तर्सिन्छस्, ए अँध्यारो ?”
अचानक किशोरको मनले प्रश्न गर्यो। उसको आवाज शुन्यतामै बिलायो।
त्यसबेला कार्तिक कृष्णऔँसीको घनघोर रात थियोे। गाउँभर दीपावलीको रौनक थियो तर किशोरको घरमा सन्नाटा र पीडाको पहरो खडा थियो।
बुबा अस्पतालको बेडमा थलिएका थिए। आमा चिन्ताले काँचिएको ओठ चपाउँदै मौन थिइन्। भैलोदेउसी खेल्ने उमेरको किशोर भने भरियाको जस्तै जीवनको भारी बोक्न बाध्य थियोे । उसको हातमा कचिया र खुर्पी थियो। निधारमा जिम्मेवारीको पसिना बग्दै थियोे।
त्यही बेला छिमेकीहरूको व्यङ्ग्यले अँध्यारो झनन् बाक्लियो- “लक्ष्मीले गरिबको घर चिन्न मान्दिन!”
“बत्ती किन्ने पैसा पनि छैन रे !”
किशोरले चुपचाप गाईको गोबरले आँगन लिप्यो, गहुँत छर्कियो । माथि हेरेर भन्यो- “लक्ष्मी धनीलाई हैन, श्रम र सद्भावलाई खोज्दै अवश्य आउँछिन्।”
उसले पुरानो कपास तानेर आठवटा बात्ती बनायो, माटोको दियो तयार गर्यो, अनि जीवनजस्तै कर्कस रातसँग जुध्दै एकएक दियो बाल्दै गयो । त्यस क्षण, उसले आफैँसँग धीमे स्वरमा भन्यो- “अँध्यारोलाई हराउनुछ भने गाली होइन, आफ्नै हृदयमा उज्यालो बाल्न सक्नुपर्छ ।”





