
कृष्ण
धेरै पहिलेको कुरा हो । कुनै जङ्गलमा ‘चतुर्दन्त’ नामको एउटा हात्ती बस्दथ्यो। ऊ हात्तीहरूको राजा थियो। हात्तीहरू उसलाई ‘गजराज’ भन्दथे । त्यस जङ्गलमा हजारौं हात्तीहरूका साथै अरू पशुपन्छीहरू पनि त्यत्तिकै मात्रामा बस्दथे । त्यो जङ्गल मानौँ वन्यजन्तु आरक्षण केन्द्रकै रूपमा रहेको थियो।
कुनै बेला लामो समयसम्म खडेरी पर्यो । सारा हरियाली हराएर गयो । माटो बुरुर्र फुकेर खरानीजस्तो भयो । वनमा बेपत्तासँग छारोधुलो उड्न थाल्यो। पानी कतै छिट्याएन। सबै सानाठूला कुवा, इनार, तलाउ,पोखरी र धाराहरू सुकेर गए। हाहाकार मच्चियो।
तिर्खाले वन्यजन्तुहरू प्याकप्याकी मुख बाउन थाले। कति मरे, कति प्राणरक्षाका लागि यत्रतत्र लागे । हात्तीको बथान पनि ठूलो कष्टमा पर्यो। आखिरमा प्राणरक्षाको उपाय निकाल्ने उद्देश्यले हात्तीको त्यो बथान हात्तीका राजा गजराज चतुर्दन्तकहाँ पुग्यो।
‘गजराज’ ! हामी तिर्खाले व्याकुल छौँ। हजुरलाई थाहै छ पानी पिउन नपाएर हाम्रा छावाहरू मरणान्त अवस्थामा छटपटाइरहेका छन् । कयौँ छावाहरू त मरिसके। हामीहरूको पनि त्यही अवस्था छ । कुनै उपाय निकालिबक्सियोस् । यस जङ्गललाई त्यागेर अर्कै जङ्गलतर्फ बाटो तताउन् नै बुद्धिमानी होला भन्ने हामीले ठानेका छौँ । चतुर्दन्तसमक्ष हात्तीहरूले आफ्नो विचार पोखे ।
गजराज चतुर्दन्त पनि हात्तीहरूको त्यस विचारमा सहमत भयो । यहाँबाट निकै टाढा पर्ने अर्को जङ्गलमा एउटा ठूलो जलाशय छ । त्यस जलाशयको नाम पातालगङ्गा हो। त्यसको मुहान पातालमा छ । त्यसैले त्यस जलाशयमा सधैँ पानी टनाटन भइरहन्छ । खडेरीको असर नपर्ने हुँदा पानी सुक्ने सम्भावना पनि कहिल्यै हुँदैन।
अतः हामी पातालगङ्गा भएको जङ्गलतर्फ प्रस्थान गरौँ ।” गजराज चतुर्दन्तले उपाय निकाल्यो।
दिनरात, साँझबिहान गर्दै हात्तीको समूह केही दिनमा पातालगङ्गा भएको जङ्गलमा पुग्यो। त्यहाँ पुगेर हात्तीहरूले पानी खाने धोको पुऱ्याए । जलविहार गर्न पाउँदा तिनीहरू असाध्यै रमाए । दिउँसोको चर्को घाममा जलविहार गर्ने र साँझबिहान पातालगङ्गा वरिपरिको रमाइलो वातावरणमा घुमफिर गरेर तिनीहरू समय बिताउन थाले।
त्यस पातालगङ्गाकै छेउछाउमा खरायाहरू बस्दथे । हात्तीहरूको रजाइँले उनीहरूको बसोबासमा बाधा पुग्न थाल्यो । हात्तीहरूले कुल्चिदिँदा खरायाहरूका गुँड भत्किए । कति साना ठूला खरायाहरू स्वाहा भए । यसले गर्दा उनीहरू ठूलो सोचमा परे र आपसमा भेला भएर छलफल गर्न लागे । उनीहरूको लामो छलफलबाट एउटै निष्कर्ष निस्कियो।” हात्तीहरूले गर्दा हाम्रो नाश र वंशको विनाश हुने भयो।”
“हामीहरू यो ठाउँ छाडेर अन्तै जाऔँ” एउटा खरायाले भन्यो । “पुर्खौँपुर्खादेखिको यो ठाउँ छाड्नु राम्रो होइन । बरु हात्तीहरूलाई पो यहाँबाट लखेट्नुपर्छ” अर्का खरायाले आफ्नो विचार प्रकट गर्यो।
“कुरा त ठीकै हो, तर उपाय के छ र ? हात्तीहरू हामीभन्दा धेरै बलवान छन् । तेस्रो खरायाले शङ्का प्रकट गर्यो ।
सबै खरायाहरू आफ्नो बसोबासको बिचल्लीमा निन्याउरा देखिएका थिए । खरायाहरूको त्यस समूहमा लम्बकर्ण नामको एउटा खरायो अलिक बाठो थियो। ऊ साँच्चिकै युक्तिवाल पनि थियो । उसले मनमनै केही उपाय सोच्यो र अरूहरूलाई धैर्य गर्न भनेर आफू फुत्त बाहिर निस्कियो । अरू खरायाहरू लम्बकर्णको त्यो चाल देखेर एकछिन ट्वाल्ल परे।
उता लम्बकर्ण सरासर चतुर्दन्तकहाँ गयो र आफ्नो परिचय दिर्दै भन्न थाल्यो, “पातालगङ्गाको यो जङ्गल खरायाहरूको बसोबासका लागि हो। हाम्रा राजा चन्द्रदेव चन्द्रमण्डलमा बस्दछन्।
खरायाहरू चन्द्रवंशी हुन् । यो जङ्गल पनि चन्द्रदेवकै अधीनमा छ । म राजा चन्द्रदेवले पठाएको लम्बकर्ण नाम गरेको दूत हूँ। मैले भनेको कुरामा विश्वास गर्नु र चन्द्रदेवको आज्ञापालन गर्नु तिम्रो कर्तव्य हुनेछ । त्यसैमा तिम्रो हित पनि छ।”
गजराज चतुर्दन्तका मनमा चस्का पसिसकेको थियो। उसले लम्बकर्णसँग सोध्यो “लम्बकर्ण । चन्द्रदेववाट हामीहरूलाई के आज्ञा भएको छ। त्यो कुरा सुनाऊ । हामी आज्ञापालन गर्न तयार छौँ।”
“चन्द्रवशी खरायाहरूलाई तिमीहरूले तहसनहस पार्यो। कति मरे, कति बिचल्लीमा परेका छन् । यो कुरा चन्द्रदेवलाई पनि थाहा भयो। आफ्नो वंशरक्षाका निम्ति चन्द्रदेवबाट तिमीहरूलाई यो जङ्गल छाडेर अन्तै जान आदेश भएको छ ।” लम्बकर्णले स्पष्टसँग बतायो र फेरि थप्यो, “तिमीहरू यहाँबाट हटेनौ भने चन्द्रदेव रिसाउनुहुनेछ र तिमीहरूको ठूलो अनिष्ट हुनेछ।”
“किन्तु, चन्द्रदेव कहाँ हुनुहुन्छ ?” चतुर्दन्तले उत्सुकतापूर्वक सोध्यो।
“चन्द्रदेव अहिले त्यसै तलाउमा हुनुहुन्छ ” लम्बकर्णले उत्तर दियो।
अहिले चन्द्रदेव “साँच्चिकै त्यसै तलाउमा हुनुहुँदोरहेछ भने म तिम्रा कुरामा विश्वास गर्छु र उहाँको आदेश तुरुन्तै स्वीकार गर्छु। लौ, बरु मलाई पनि चन्द्रदेवको दर्शन गराइहाल” चतुर्दन्तले सर्तसहित वाचा गर्यो।
पूर्णिमाको साँझको समय थियो । चन्द्रमाको प्रकाशले चारैतिर उज्यालो छाएको थियो। यस्तैमा ‘के खोज्छस् काना, आँखो, भनेझै लम्बकर्ण अघि लाग्यो र गजराज चतुर्दन्त उसका पछिपछि लस्कन थाल्यो। ती दुवै पातालगङ्गाका छेउमा पुगे । नभन्दै स्वच्छ जलाशयमा चन्द्रमाको छाया ऐनामा मानिसको अनुहारजस्तै छर्लङ्ग टल्किरहेको थियो। त्यो देखेर लम्बकर्णको कुरामा चतुर्दन्तलाई पूरै विश्वास भयो । उसले परैबाट चन्द्रदेवको दर्शन गर्यो र पहिलेको वाचाअनुसार आफ्नो बथानसहित गजराज त्यो जङ्गल छाडी पुरानो वस्तीतर्फ लाग्यो । लम्बकर्णको युक्तिले खरायाहरूका दिन फिरे र उनीहरू पहिलेझै पातालगङ्गा वरिपरि खुसीले नाच्न थाले।





