युवाकोमहत्व


रम्भा पौडेल

“अब फेरी आज के पढाउने होलान् यी बुढाले ”
पछाडि बसेको मिलनले सानो स्वरमा अगाडि बसेको रमेशको कानमा भन्यो । ”खोइ यो नेपाली र सामाजिक बिषय त बढनै मन छैन । जति लेखेपनि नम्बर आउने होइन ।”
रमेशले पनि ‘हो त नि’ भन्दै सहि थाप्यो । उता सरले बोर्डमा युवाको महत्व शिर्षक लेखेर पढाउन शुरु गर्दै भन्नुभयो, “तिमीहरुका कानेखुसि मैले सुनिसकेँ है । पढ्न भनेपछि तिमीहरुलाई मन लाग्दैन भन्ने मलाई थाहा छ । हामी बुढा भैसक्यौँ अब बुढा भनेपनि भन क्यै छैन ।”
सरको जवाफ सुनेरमिलन निहुरी मुन्टो लगाएर बस्यो । रमेशले उठेर भन्यो,“सर, मिलनलाई त पढ्नै मन छैन रे । यो देशमा पढेर के हुन्छ र ? हाम्रा दाइदिदी सबै विदेश गइसके भन्छ । हामी पनि विदेश नै जाने हो मात्रै एसइइ कुरेको हो । जनतन पास भएपछि विदेश नै जाने हो ! यो देशमा कसले दुख गर्छ र? यहाँ भनेकोजस्तो जागिर पाउने होइन ।”
कक्षा आठमा पढ्दै गरेका विद्यार्थीको कुराले सरलाई पनि दिक्क लाग्यो । सरले भन्नुभो,“कस्तो उदेकलाग्दो देश भयो है । कस्तो रौनक थियो देशभित्र । सबैजना एउटै परिवारमा बस्थे । कृषिको कत्रो रौनक थियो । आफुलाई चाहिने सवै बस्तु आफै उत्पादन गर्थे । विदेशबाट नुन र मट्टितेल मात्रै ल्याउँथे । हाम्रा देशका जडिबुटि बिदेश पुग्थे । भनिन्छ हाम्रो देशको तामा युरोप पुग्थ्यो रे ! त्यसैले त भनिन्छ लिच्छविकाललाई स्वर्णकाल भनेर । कला–संस्कृतिको कत्रो विकास थियो । अहिले त के भयो यस्तो, संझदै दिक्क लाग्छ । कसैले पनि आफ्नो देशलाई मायाँ नगर्ने भए । त्यसैले त नेपाली र समाजिक विषय पढ्न मन छैन यिनलाई । नेपालीले विषयले भाषा सिकाउने हो ।सामाजिकविषयले देश र संस्कृति चिनाउने हो । हाम्रा अधिकांश विद्यार्थीहरू यी दुवै विषयमा अनुत्तिर्ण हुन थाले ।”
सरले लामो सास तानेर फेरी भन्नु भयो, “जुन ठाउँले जन्म दियो, जुनठाउँले मायाँ दियो,नाम दियो र परिचय दियो, त्यै ठाउँप्रति नयाँ पुस्तामा वितृष्णा फैलिँदैछ ।”
“आफ्नो देशमा काम पाईँदैन सर, अनि विदेश नगएर के गर्नु ?” राधिकाले भनी ।
“आफ्नैदेशको अस्तित्व मेटाउन अरुको देशका लागि काम गर्ने जनशक्ति देशका लागि के काम । बिचरा यी साना साना नानीको त के दोष छ र ?यिनले जे देखे त्यही बोले । अनि जस्तो संंस्कार बस्यो उस्तै चलन चल्ने त हो नी ।घरकादाजु–दिदी देशमा बसे पो भाइबैनीले पनि त्यही सिक्थे । पुराना पार्टीका बुढा नेताको बुद्धिले काम गरेन । युवाको बुद्धि र शक्ति प्रयोग हुनै पाएन । बरु विदेशले प्रयोग गरिरह्यो चालै नपाई ।” सरले पर क्षितिजतिर हेरेर टोलाएर एक्लै भनिरहनुभयो ।
“सर युवाको महत्वबारे हामीलाई बताउनु । किन एक्लै बोलिरहनुभएको सर?”घण्टी बितिसक्यो । सर झसंग हुँदै बिाद्यार्थीतिर फर्केर भन्नुभयो,“युवा अवस्थाको महत्व त कसैले बुझेन बाबु नानी हो । त्यसैले त यहां होटल बन्द छन् । यहाँका उद्योग–कलकारखाना बन्द छन् । बजारमा चहलपहल छैन । यहाँका खेत–बारी बाँझा छन् । यहाँको पर्यटनले महत्व र प्रचार पाएन । यहाँका फलफूल र तरकारीले बजार पाएनन् । देशैँ सुनो हुँदैछ बाबु–नानी हो ।”
सरले प्रश्न गर्ने र विद्यार्थीले उत्तर दिने सिलशिला शुरु भयो–
सर, “शरिरमा सबै भन्दा बढी उर्जा कसको हुन्छ ?”
विद्यार्थीहरु,“युवाको !”
सर, “युवा अवस्था मानिसको सबैभन्दा महत्वपूर्ण अवस्था हो । यतिबेला उ जे गर्न पनि तयार हुन्छ । होटलमा बढी को जान्छ ?”
विद्यार्थीहरु,“युवा ।”
सर, “बजारका नयाँ सामान बढी कसले किन्छ ?”
विद्यार्थीहरु,“युवाले ।”
सर,“मरेको मानिसको लास कसले उठाउन सक्छ ?”
विद्यार्थीहरु, “युवाले ।”
सर,“बिजुलीका तारमा हिड्न र पोल गाडन कसले सक्छ ?”
विद्यार्थीहरु, “युवाले ।”
सर– “चलचित्र कसले बढी हेर्छ ?”
विद्यार्थीहरु, “युवाले ।”
सर– “कुलो कसले खन्न सक्छ ?”
विद्यार्थीहरु– “युवाले ।”
सर– “यी सवै क्षेत्र चल्नका लागि त युवा नै चाहिन्छ नि ।”
सरले फेरी भन्नुभयो,“कक्षामा कस्तो सरले पढाएको मन पर्छ ? बुढो सरले कि युवाले ले ?”
विद्यार्थीहरु– “युवाले ।”
सर– “काम कसले बढी गर्छ ?”
विद्यार्थीहरु– “युवाले ।”
सर– “देशको विकास कसले गर्छ?”
विद्यार्थीहरु– “युवाले ।”
सर– “तिमीहरुलाई सबै कुरा थाहा रहेछ त ! अनि यतिका धेरै ज्ञानी छौ तिमीहरू, भोलि तिमीहरु नै युवाको महत्वको विषयमा लेखेर ल्याउ है!”
विद्यार्थीहरु– “हुन्छ सर ।”
सर मुसुक्क हाँस्दै कक्षाबाट विदा हुनुभयो ।