कोइलीले घमण्ड गर्न छोड्यो

 

अर्जुन श्रेष्ठको पोष्टबाट

एउटा कोइलीलाई आफ्नो स्वरप्रति निकै ठूलो घमण्ड चढेछ। एक दिन सबै चराहरूको बीचमा उसले भन्यो, “हामी नभएको भए त मीठो स्वरले गाउने कोही नहुने रहेछ।” कोइलीको घमण्ड सुनेर अरू चराहरू छक्क परेर मुखामुख गर्न थाले। कागले कोइलीलाई भन्यो, “तिम्रो स्वरलाई तिमी आफैँले राम्रो भन्नु भन्दा त अर्काले पो राम्रो भनिदिए जाती हुन्थ्यो। यो वनमा मीठो स्वरमा गाउने अरूहरू पनि छन्।
“कागको जवाफ सुनेर कोइलीले रिसाएर भन्यो, “तिम्रो न रूप छ न गुण छ । किन बेकारमा फुर्ती गर्छौं ?” “कोइली! तिमी बढ्ता घमण्ड नगर। काग दाजुले जे भने ठीकै भने, ” ढुकुरले भन्यो।
कोइलीको कुराले त्यहाँ निकैबेर भनाभन र होहल्ला मच्चियो।
उनीहरूको झगडा नजिकैको रूखमा बसेको बाँदरले सुनिरहेको थियो। त्यसले भन्यो, “ए चराहरू हो। तिमीहरू बेकारमा किन झगडा गर्छौं ? झैझगडा परेपछि राजा सिंहकहाँ जाओ। ” बाँदरका कुरा फिस्टालाई चित्त बुझेन। उसले झगडाको छिनोफानो मान्छेबाट गराउनुपर्छ भन्यो। फिस्टाको कुराले अरूलाई चित्त बुझ्यो।
भोलिपल्ट दिउँसो छिर्के परेवाले एक जना मान्छे ल्यायो।
यहाँ के कुरा भयो होला ………………………………………?
“त्यसैले त उनीहरूले घमण्ड गरेका छैनन्। कोही छौ त त्यस्तो घमण्ड गर्ने ?” मान्छेले चराहरूको समूहतिर सोध्यो। “छैन” भन्ने ठूलो आवाज आयो। “मेरो आवाज अरू चराहरूको भन्दा सुरिलो छ नि,” दबेको स्वरमा कोइली बोल्यो। “कोइली ! तिमीलाई कस्तो बगैँचा मनपर्छ ? एकैथरी फूल भएको कि धेरैथरी फूल भएको ?” मान्छेले प्रश्न गर्यो।
“धेरैथरी फूल भएको बगैँचा मनपर्छ,” कोइलीले जवाफ दियो।
“ठीक भन्यौ। एउटै स्वर पनि सधैँभरि मीठो हुँदैन। बेग्लाबेग्लै स्वर मीठा हुन्छन् । त्यसैले सबै चराका स्वर मीठा छन्।” मान्छेले भनेका कुराले कोइलीको चित्त बुझ्यो। त्यसपछि कोइलीले घमण्ड गर्न छोड्यो।