पसिनाको ढोल


नन्दलाल आचार्य

“आज पनि छुट्टी छैन रे ?” मोबाइल फोनको अर्कोपट्टिबाट आमाको स्वरमा निलो निराशा पोखियो । रमेशले पसिनाले भिजेको निधार पुछ्दै भन्यो, “छुट्टी त छ आमा, तर यो सपनाको पुललाई अधुरै छाड्ने साहस छैन ।”
बस्तीको डाँडाबाट ढोल र झ्यालीको गुञ्जन मन्द हावासँगै तलतिर बग्दै थियो । तमु ल्होसारको उल्लास हिमालका टाकुरामा ठोक्किएर गाउँभरि सुनौलो घामजस्तै पोखिएको थियो । त्यसैबेला सहरको एउटा अधुरो पुलको छायामुनि रमेश भने फलामका रडहरूसँग जीवनको नयाँ लय बुन्दै थियो ।

​आमाले पुकारिन्,“तमु ल्होसारमा त घर आउँनैपर्छ नि छोरा! यो त हाम्रा पुर्खाको विरासत र नयाँ बिहानीको पर्व हो ।”
रमेशले पुलको संरचनालाई नियाल्यो । उसलाई लाग्यो, उसले उनेको यो फलामको जाली नै आजको लागि घाँटुको ताल हो । उसले भन्यो, “आमा, म आउँछु । तर यसपटक म खाली नाच्न मात्र होइन, आफ्नो पसिनालाई नै उत्सवको अबिर बनाएर आउँछु ।”
छेउमै काम गरिरहेको दलित साथीले हथौडा बिसाउँदै सोध्यो, “रमेश, चाडको दिन यो कठोर फलामसँग किन पौँठेजोरी खेलेको ?”
रमेशको ओठमा एउटा शान्त मुस्कान नाच्यो । उसले भन्यो, “मित्र, ल्होसार भनेको पात्रोको पाना फेरिनु मात्र होइन। यो त श्रमको सम्मान र विभेदरहित समाजको नयाँ जग बसाल्ने सङ्कल्प पनि हो । डाँडामा बज्ने ढोल र मेरो यो हथौडाको ताल आज एउटै छ । दुबैले परिवर्तनको गीत गाइरहेका छन् ।”
सूर्य अस्ताउँदै गर्दा रमेशको अनुहारमा एउटा अलौकिक चमक देखियो । उसले बुझेको थियो- चाडपर्व रीतिथिति मात्र होइनन्, यी त पसिनाको धारामा मानवताको रङ्ग मिसाएर खेलिने प्रेमका होली हुन् ।