चलन


गंगा खड्का
बूढानीलकण्ठ,काठमाडौँ

“हेर त बुढी, हाम्रा छोराछोरीले हामीलाई हेर्न नभ्याए पनि आ-आफ्ना क्षेत्रमा कति धेरै नाम कमाएका छन् । हिजो पनि ठुलो छोरो उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत भएछ ।” हरिकृष्णले छोरो सम्मानित हुँदाको तस्बिरहरू फेसबुकमा देखाउँदै खुसी व्यक्त गरे । रमिलाले पनि सबै फोटाहरू एकएक गरी नियालेर हेरिन् । तस्बिर हेर्दै जाँदा उनको अनुहार जून जस्तै उज्यालो देखियो । उनले अत्यन्तै खुसी हुँदै भनिन् ,” त्यही त केही पाउन केही त गुमाउनु परिहाल्यो नि । हामी भनेर अल्झिएका भए यति माथि कसरी पुग्न सक्थे र ? त्यही भएर हामीलाई हेरेनन् भन्ने कुनै गुनासो छैन बुढा ।” उनले ठूलो छोराको तस्बिर सुमसुमाउँदै भनिन् । एकछिन दुबै जना चुप लागे । कोठामा सन्नाटा छायो । केही समयको सन्नाटालाई चिर्दै हरिकृष्णले भने, “बुढी ,यति ठुलो सफलतामा पनि छोराले हामीलाई एक वचन सम्झेन । उसको सफलता उसकै मुखबाट सुन्न पाएको भए कति खुसी हुन्थ्यौँ होला ।” उनी गहभरि आँसु पारेर बुढीको प्रतिक्रियाको पर्खाइमा रहे । रमिलाको पनि एकाएक कण्ठ भरिएर आयो । उनी केही बोल्न सकिनन् । बल्लतल्ल आँखामा जमेको पोखरीलाई त्यहीँ दबाउँदै बडो जिज्ञासु हुँदै भनिन्, “बुढा, सरकारले धेरै कुराको लागि प्रोत्साहनस्वरूप विभिन्न पुरस्कार दिँदै आएको छ तर आमाबुबालाई बुढेसकालमा सबैभन्दा राम्रोसँग हेरचाह गर्ने, समय दिने र खुसी राख्ने छोराछोरीलाई सम्मान गर्ने चलन चाहिँ किन नचलाएको होला हगि ?”