
दिनेश निरौल
चिसंखुगढी१, ओखलढुंगा
“बाबा आज कथा नपढ्ने ?” बिहानै उठेर नित्य कर्म गर्दै गर्दा उसले भन्यो।
“नियमित पूजापाठ सकेर पढ्ने त ” मैले भनेँ ।
“आज देखि मेरो पढाइ हुन्छ चाँडै गर्नुन ।” उसले हातमा फूलपाती लिएको थियो।
नौ बर्षको छोराले स्वस्थानीको कथामा ध्यान दिएको देख्दा मन मनै खुशी लाग्यो।
कथा पढी सकेँ उसले फूल राखेर पुस्तक ढोग्यो।
“बाबा बिरभद्र र महाकालीले दक्षप्रजापतिलाई मारे अनि बचाए पनि हैन” उसले भन्यो।
“अँ हो त तिमीले सही बुझ्यौ” मैले भनेँ ।
“अहँ मैले बुझिन बााबा हजुरले बुझ्नु भएकोे भए मलाई बुझाउनु न” उ उत्साहित भयो।
“के बुझेनौ ?” मैले सोधेँ।
“टाउको काटिएको दक्षप्रजापतिलाई बचाउन सक्नेले आगोमा हाम्फालेर मरेकी सतीदेवीलाई किन नबचाएको” उ थोरै उत्तेजित भयो।
“अरुको कारण मरेकोलाई बचाएकोे र आफैँ आत्माहत्या गरेकोलाई बचाउन नसकेको हुनुपर्छ ।” मैले अनुमानित उत्तर दिएँ।
“कथाको सार बुझेँ । नजानेर गल्ती भए क्षमा हुन्छ। जानिजानी गरे हुँदैन” उ भान्सामा पस्यो।
म कथामै घोत्लिएँ ।” किन महादेवले सतीदेवीलाई नबचाएको ?”





