
नारायण नाथ योगी
इटहरी सुनसरी
सृष्टिको आदिम काल थियो। ब्रह्माजीले भर्खरै पृथ्वीको रचना सिध्याउनुभएको थियो। चारैतिर हरियाली थियो, नीलो आकाश थियो र सुन्दर नदीहरू बहन्थे। तर, ब्रह्माजीको मन भने अशान्त थियो। उहाँ आफ्नै सिर्जनालाई हेर्दै सुस्केरा हाल्दै हुनुहुन्थ्यो। त्यतिकैमा त्यहाँ भगवान विष्णु प्रकट हुनुभयो। विष्णुले सोध्नुभयो, “ब्रह्माजी, सृष्टि त निकै सुन्दर छ, तर तपाईंको अनुहारमा यो उदासी किन?” ब्रह्माजीले यसो वरिपरि हेर्दै भन्नुभयो, “हे नारायण, हेर्नुहोस् त, यो संसार कति सुनसान छ! नदी बग्छ तर आवाज छैन, हावा चल्छ तर सुसाँइ छैन। मानिसहरू त छन्, तर उनीहरू आपसमा भावना साटासाट गर्न सक्दैनन्। यो त एउटा सुन्दर तर ‘मौन’ चित्र जस्तो मात्र भयो। शब्द बिनाको यो संसार मलाई अधुरो लाग्यो।” ब्रह्माजीको यो रिक्तता मेटाउन दुवैले आदि-शक्तिको ध्यान गर्नुभयो। अचानक आकाशबाट एउटा तेजपुञ्ज पृथ्वीमा ओर्लियो। सेतो कमलको फूलमा विराजमान, हातमा वीणा लिएकी देवी सरस्वती प्रकट हुनुभयो। “मलाई किन सम्झनुभयो पितामह?” सरस्वतीले मधुर स्वरमा सोध्नुभयो। ब्रह्माजीले आग्रह गर्नुभयो, “पुत्री, यो संसार मौनताको बन्दी भएको छ। यसलाई वाणी देऊ।” सरस्वतीले आफ्नो हातको वीणालाई काखमा राख्नुभयो र तारहरूमा सुस्तरी औंला चलाउनुभयो। जतिबेला पहिलो ‘झङ्कार’ निस्कियो, ब्रह्माण्डमा एक अभूतपूर्व कम्पन पैदा भयो। “स… रे… ग… म…” ती स्वरहरू गुञ्जनासाथ सुकेका रुखहरूमा पालुवा पलाउन थाले। चराहरूले पहिलो पटक चिरबिर गरेर गीत गाए। मानिसले आफ्नो कण्ठबाट ‘ओम’ उच्चारण गर्यो। प्रकृतिमा अचानक एउटा उत्सव छायो— रूखहरू झुले, फूलहरू मुस्कुराए। यो हेरेर ब्रह्माजी प्रसन्न हुनुभयो र भन्नुभयो, “आजबाट तिमी विद्या र वाणीकी देवी भयौ। आजकै तिथि (माघ शुक्ल पञ्चमी) बाट संसारमा ऋतुराज वसन्तको आगमन हुनेछ र मानिसले तिम्रो पूजा गरी ज्ञानको खोजी गर्नेछन्।” त्यस दिनदेखि संसारले शब्द पायो र मानिसले सोच्ने शक्ति।





