
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“दामनी! आज छुट्टी छ क्या हो ट्यूशन जाने होईन ?”- देवकीले आफ्नी छोरीलाई सोधिन्। ऊ सुन्यानसुन्यैगरी र कुचो उठाएर दलान बढार्न थाली।
“के भने मैले सुनिन कि क्याहो ?”- आमाले फेरी उही कुरा दोहोर्याउँदै भनिन्।
“ट्यूशन जाँदिन आमा म ।”- दामनीले निरास हुँदै भनी।
“के भन्छे यसले ? हिजोसम्म त खुसीहुँदै जान्थी आज के भयो ? कति मुश्किलले मास्टर साहबले पढाइ दिन्छु भन्नुभाको छ। सित्तैमा कसैले पढाउँछन् हामी गरिबलाई ? विनोदसर जस्तो भला मानिस कहाँ पाउछेस् ? सबै काम छाड । यो घरको काम त मैले पनि गर्नसक्छु तिमी ट्यूशन गैहाल।” देवकीले आफ्नो छोरी दामनीलाई सम्झाउँदै भनिन्।
“आमा मलाई त्यहाँ ट्यूशन पढ्न मन लाग्दैन। म घरै बसेर पढ्छु।” दामनीले आमासँग बिन्तीगर्दै भनी।” के भएको अचेलका केटीलाई कसैले सित्तैमा पढाउँछु भन्दापनि पढ्न मान्दैनन्। यो बाह्र क्लासको कठिन पढाई विनोद सरको सहयोगले यसैलाई फाइदा हुनेथियो। ” देवकी दामनीलाई सुनाउँदै फत्फताइन।
“आमा! त्यहाँ अरू कुनै केटी साथी आउँदैनन् म एक्लै हुन्छु त्यसैले जानै मन लाग्दैन्।”- दामनीले देवकीलाई बताई।
“यो केटी! विनोदले सबैलाई सित्तैमा किन पढाउँथ्यो भला तिमीलाई पो गरिबकी छोरी भनेर दया गर्दै पढाउछु भनेका थिए त। अरूको के ठेक्का भयो त उसलाई।” देवकीले सम्झाउँन खोजी।
“आमा! हजुरलाई कसरी सम्झाउँ मैले। कसैले कसैलाई पनि सित्तैमा पढाउँदैन यत्ती बुझिदिनु ल। अब मलाई त्यहाँ पढ्न जाउ न भन्नुहोस्।”- दामनी अलि चर्को स्वरमा बोली र फेरी घरको काम गर्न थाली।





