
तोरण गुरुङ
साना भाइबहिनीहरूसँग बस्दा अहिलेको समयभन्दा धेरै टाढा, म मेरो ९० को दशकको बाल्यकालमा हराउन पुग्छु, त्यो समय जहाँ हामीसँग धेरै कुरा थिएनन् तर जे थियो, त्यही नै संसार थियो, बिहान सबेरै आमाको आवाजले निद्रा खुल्थ्यो, घडी थिएन, मोबाइल त कल्पनाभन्दा बाहिरको कुरा थियो, घाम झ्यालबाट छिर्नु नै बिहान भएको संकेत हुन्थ्यो, जाडोमा सिरकभित्र लुक्न मन लाग्थ्यो तर खेत, गोठ र स्कुलको जिम्मेवारीले ओछ्यानमा धेरै बेर बस्न दिँदैनथ्यो, नुहाउँदा चिसो पानीले जिउ काँप्थ्यो तर मन कहिल्यै कमजोर हुन्नथ्यो, स्कुल जाने बाटो धुलाम्मे थियो, कहिलेकाहीँ नाङ्गो खुट्टा, कहिलेकाहीँ चप्पल फुटेको, तर त्यो बाटोमै हामी हाँस्थ्यौँ, खेल्थ्यौँ, झगडा गर्थ्यौँ र फेरि मिल्थ्यौँ, झोलाभित्र किताब कम, कापी च्यातिएको, पेन्सिल सानो तर सपनाहरू ठूलो हुन्थे, स्कुलमा मास्टरको डर हुन्थ्यो तर सम्मान अझ धेरै, पिटाइ पनि माया जस्तै लाग्थ्यो, किनकि त्यो समय अनुशासन र सम्बन्ध छुट्टै कुरा थिएनन्, बेलुका स्कुलबाट फर्केपछि आँगन नै हाम्रो खेलमैदान हुन्थ्यो, डन्डीबियो, गिट्टी,भुरूङ,लुकामारी, चोर पुलिस, कहिलेकाहीँ घाइते भएर रुँदै घर फर्किन्थ्यौँ तर आमाको फुकफुक र माटोको लेपले सबै दुखाइ बिर्साइदिन्थ्यो, भोक लाग्दा पनि खेल छाड्न मन लाग्दैनथ्यो, आमाले कराएर बोलाउँदा रिस उठ्थ्यो तर भान्साबाट आउने भात र तरकारीको गन्धले त्यो रिस क्षणभरमै पग्लिन्थ्यो, टिभी थियो भने पनि कालो सेतो, त्यो पनि कहिलेकाहीँ मात्र, सोलारबाट चल्थ्यो, ब्याट्री सिधिनी सामान्य कुरा थियो, अँध्यारोमा दियो बालेर कथा सुन्नु, बुवा र हजुरबुवाको आवाजमा भविष्यको सपना बुन्नु नै हाम्रो मनोरञ्जन थियो, छिमेकीहरू आफन्तजस्तै थिए, एकअर्काको घरमा नढोकी पसिन्थ्यो, दुःख साटिन्थ्यो, खुसी बाँडिन्थ्यो, कसैको घरमा खाना कम भयो भने अर्को घरले चुपचाप पुर्याइदिन्थ्यो, त्यो समय अभाव थियो तर ईर्ष्या थिएन, प्रतिस्पर्धा थियो तर घृणा थिएन, नयाँ कपडा वर्षमा एकपटक आउँथ्यो, दशैँको कपडा महिनौँसम्म जतन गरेर लगाइन्थ्यो, त्यो कपडा लगाउँदा आफू संसारकै धनी जस्तो लाग्थ्यो, परीक्षा सकिएपछि नतिजाको डरभन्दा धेरै छुट्टीको खुशी हुन्थ्यो, असफलता शब्द हामीले धेरै ढिलो बुझ्यौँ, हारलाई पनि भोलि फेरि जित्ने अवसर जस्तै मानिन्थ्यो, आजका साना भाइबहिनीहरू मोबाइल र स्क्रिनमा रमाइरहेका देख्दा म सोच्न बाध्य हुन्छु, हामी स्क्रिनविहीन भएर पनि कति रंगीन थियौँ, हाम्रो खुशी सरल थियो, माटोमा लुकेको, पसिनामा मिसिएको, सम्बन्धमा बाँधिएको, समयसँगै म ठुलो भएँ, जिम्मेवारी बढ्दै गए, सपना बोझ बन्दै गए, तर त्यो ९० को दशकको बाल्यकाल मेरो भित्र कतै सुरक्षित छ, जब म थाक्छु, जब जीवनले धेरै प्रश्न सोध्छ, म त्यही पुरानो आँगनमा फर्किन्छु, त्यही धुलाम्मे बाटोमा हिँड्छु, त्यही नाङ्गो खुट्टाले दौडिन्छु, र सम्झिन्छु म अभावबाट आएको हुँ तर कमजोर होइन, म सरल समयको उत्पादन हुँ तर दृढ मनको मालिक हुँ, साना भाइबहिनीहरूको हाँसोमा म आफ्नो हराएको हाँसो भेट्छु, उनीहरूको निर्दोष आँखामा म आफ्नो पुरानो सपना देख्छु, र मनमनै प्रार्थना गर्छु उनीहरूको बाल्यकाल पनि कुनै दिन यस्तै अमूल्य सम्झना बनोस्, किनकि समयले सबै कुरा लैजान्छ, तर बाल्यकालले दिएको आधार जीवनभर साथ दिन्छ, र मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति यही ९० को दशकको बाल्यकाल हो, जसले मलाई मान्छे बनायो, संघर्ष सहन सक्ने बनायो, र आज पनि म भत्किन लाग्दा भित्रैबाट सम्हालिरहेको छ। अन्त्यतिर आइपुग्दा मन एकदम शान्त तर दृढ हुन्छ, किनकि मैले बुझिसकेको छु मेरो जीवनको सबैभन्दा ठूलो पूँजी कुनै डिग्री, कुनै पद वा कुनै सम्पत्ति होइन, त्यो ९० को दशकको बाल्यकाल हो, जसले मलाई अभावमा पनि मुस्कुराउन, अँध्यारोमा पनि बाटो खोज्न र हारको बीचमा पनि आशा बाँचाइराख्न सिकायो, जीवनले आज मलाई जति नै जिम्मेवारीको भारी बोकाए पनि म भत्किँदिन, किनकि म सजिलो काखमा होइन, संघर्षको काखमा हुर्किएको हुँ, मैले चाँडै सिकें कि आँसु लुकाएर पनि हिँड्न सकिन्छ, घाउ बोकेर पनि सपना देख्न सकिन्छ, र खाली हातबाट पनि भविष्य बनाइन्छ, आज जब संसार छिटो परिणाम खोज्छ, म धैर्य रोज्छु, किनकि मलाई थाहा छ गहिरो जरा बिना कुनै रुख लामो समय उभिन सक्दैन, जब जीवनले “अब सकियो” भन्छ, म मेरो बाल्यकाल सम्झिन्छु र आफैँलाई भन्छु तँ त्यसभन्दा गाह्रो समयबाट उठेर आएको होस्, त्यसैले यो पनि पार हुनेछ, यही सम्झनाले मलाई फेरि उभ्याउँछ, फेरि हिँड्न सिकाउँछ, फेरि विश्वास दिलाउँछ कि म कमजोर छैन, म केवल थाकेको हुँ, र थकाइ विश्रामले जान्छ, आत्मसमर्पणले होइन, साना भाइबहिनीहरूलाई हेर्दा म उनीहरूका लागि एउटा उदाहरण बन्न चाहन्छु, उपदेश दिएर होइन, आचरणले, उनीहरूले देखून् सफलता सधैँ चिल्ला बाटोबाट आउँदैन, कहिलेकाहीँ धुलो, पसिना र आँसु मिसिएको बाटो नै सही हुन्छ, यदि कहिल्यै जीवनले तिमीलाई तल झार्यो भने, आफ्नै जरा सम्झ, तिमी कहाँबाट आएको हौ भन्ने सम्झ, किनकि त्यो सम्झनाले तिमीलाई फेरि माथि उठाउनेछ, अन्ततः जीवन जित्नु भनेको अरूभन्दा अगाडि पुग्नु होइन, आफूभन्दा हार नमान्नु हो, र म गर्वका साथ भन्छु मेरो ९० को दशकको बाल्यकालले मलाई यही साहस दिएको छ, यही अडान दिएको छ, र यही कारण म आज पनि कठिन समयलाई आँखा जुधाएर भन्न सक्छु म अझै बाँकी छु, म अझै अघि बढ्नेछु।
श्रोतः फुर्सदको बेला





