“अक्षरको सहर”


नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर

​जून जस्तै उज्यालो छ,
अक्षरको सहर
किताब नै बोकी हिँड्छु,
बोकी मीठो रहर।

कहिले यसले बादल माथि,
सयर गराई दिन्छ
कहिले यसले भँगेरा झैँ,
उड्न सिकाइ दिन्छ ।।

​कोरेका ती चित्रभित्र,
लुकामारी खेल्छु
अक्षरका फूलहरू,
एउटा माला झेल्छु।

नदी जस्तै बग्छ यहाँ,
ज्ञानको त्यो धारा
अध्याँरोमा बनिदिन्छ,
चम्किलो यो तारा ।।

​थुचुक्क यो काखमा बस्छ,
बोल्दैन यो मुखले
संसारलाई देखाइदिन्छ,
कति धेरै सुखले।

न त झगडा गर्छ यसले,
न त कहिल्यै रिसाउँछ
मनभित्रै रमाइलो,
बगैँचा यो बिसाउँछ ।।

​मसीको यो बास्नाले,
मनै मेरो तान्छ
मेरो साथी पुस्तक नै,
जहाँ जान्छु जान्छ।

पखेटा हुन् यिनै मेरा,
नयाँ संसार भेट्ने
अज्ञानको अँध्यारोलाई,
यहीँबाट मेट्ने ।।