
निमा छिरिङ भोटिया
जलढाका कालेबुङ
भारत
माया, प्रेम भन्ने कुरा बुझ्न नै गाह्रो। खै कसैले मायामा म त पागल भई मर्छु होला भन्छ भने कसैले आफू मात्र प्रेममा परेका हुन्छन्। यस्तै कथा हो यो मंगलीको।
उ सानोबाट मिलनलाई मन पराउने तर मिलनलाई भने त्यो कुराको केही अत्तोपत्तो छैन। हुनु पनि कसरी होस् त। उसलाई यो माया प्रेमको परिभाषा थाहा नै छैन। तर मंगली मिलन भन्दा उमेरमा चार पाँच बर्ष ठूली छ। अहिले उनीहरूमा मस्त जवानी भरेको छ। अझै पनि मंगली उसलाई आफ्नो माया सम्झेर बसिरहेकी छे। मिलन भने मंगलीको त्यो अनौठो प्रेम कुराबाट हजारौँ गुणा टाढा छ। किन भने कहिले पनि मंगलीले आफ्नो माया प्रेमको कुरा मिलनसँग देखाइन। उ सधैँ मिलनबाट पर पर रहेर उसलाई आफ्नो कल्पनाको संसारमा मात्र उसँग रमाउने गरेकी थिई।
एक दिन अचानक मंगली मिलनसँग आफ्नो माया प्रेमको कुरा बताउनु पर्यो भनेर उसको नजिकै पुगेकी थिई। उसै बेला मिलनले मंगलीलाई आफूतिर आइरहेको देखेर मिलनले हाँस्दै भन्यो ___”ओहो मैले तिमीलाई सम्झिरहेको थिएँ। आज भेट्दा औधी खुशी लाग्यो। कुरा के भने अर्को सोमबार मेरो शुभ विवाह छ। फेरि तिमी त मेरो सानै देखिको साथी यसैले तिमीलाई पनि यो निम्तो दिएँ है।”
बिचारी मंगली आफ्नो कुरा भन्न नपाई चुपचाप त्यो निम्तो स्वीकार गर्दै भनी ____”एउटा सानोको साथी सम्झी यसरी बोलाएकोमा तिमीलाई धन्यवाद।”





