
नन्दलाल आचार्य
नयाँ विद्यालयको सेतो भित्तामा सानो अङ्कितले रङ्गीन चकले केही कोर्दै थियो । अचानक पछाडिबाट आवाज आयो, “ए बाबु, के गर्दै छौ त्यहाँ ?”
अङ्कित झस्कियो । उसको हातमा चम्किलो नीलो चक थियो । उसले डराउँदै भन्यो, “म त… अक्षर लेख्दै छु, दाइ हजुर !”
लौरो टेक्दै आउनुभएका अवकाशप्राप्त पाले दाइले भित्तामा हेर्नुभयो । त्यहाँ आधा लेखिएको शब्द थियो- ‘सफा’।
“यो अक्षर मात्र हो कि अनुशासन ?” पाले दाइ मुस्कुराउनुभयो।
“यो त हाम्रो कर्तव्य हो,” अङ्कितले साहस बटुल्दै भन्यो, “सबैले फोहोर फाल्छन्, त्यसैले सम्झाउन खोजेको ।”
विद्यालय शान्त थियो । पाले दाइले भित्तामा सुस्तरी हात राख्नुभयो र भन्नुभयो, “बाबु, अनुमति बिना भित्तामा लेख्नु नियम विपरीत हो । हेडसरले देख्नुभयो भने गाली गर्नुहोला।”
अङ्कितको मुटु ढुकढुक भयो । उसले सोध्यो, “हजुरले मलाई सजाय दिनुहुन्छ ?”
वृद्धले टाढा हेर्दै भन्नुभयो, “म पनि तिम्रै उमेरमा विद्यालयको भित्तामा यस्तै सपना कोर्थें ।”
परबाट घण्टी बज्यो । वृद्धले जाँदाजाँदै गुनगुनाए, “अहिले म तिमीलाई रोक्ने पाले हुँ, तर भोलि यही ‘सफा’ शब्दले मेरो विद्यालयलाई अझै सुन्दर बनाउनेछ ।”





