महान् चातुर्य


नन्दलाल आचार्य
गोलबजार, सिरहा

​”हेर्नुस् मास्टरजी, यो ढुङ्गाले कसरी सुन ओकलिरहेको छ !” स्कुल जाँदैगर्दा ​नदी किनारमा झुकेका अघोरीको कुराले म झस्किएँ । उनको हत्केलामा एउटा कुरुप कालो पत्थर थियो, जसमा ठोक्किएर घामका किरणहरू पहेँलो बनेर छरिएका थिए । मेरो आँखामा लोभको चमक नाच्न थाल्यो । ​”के यो साँच्चै सुन नै हो त ?” मैले संशय मिसाउँदै सोधेँ । ​उनले रहस्यमय मुस्कानका साथ मलाई हेरे र भने, “यो सिद्धिको फल हो । तर संसारी मोहले यसलाई अपवित्र बनाउँछ । तपाईंको गलामा झुण्डिएको यो सुनको कण्ठी र हातको औँठीले यसको शक्ति नष्ट गरिदिन सक्छ ।” त्यो ​पारसमणि पाउने हुटहुटीमा मैले केही सोचिनँ । हतार-हतार आफ्ना गहना फुकालेर उनको पोल्टामा हालिदिएँ र त्यो पारसमणिमा झम्टिएँ । उनी “कल्याण होस् !” भन्दै जङ्गलतर्फ ओझेल परे । ​मैले हतारिँदै पारसमणिलाई नदीको पानीमा पखालेँ । तर, पखाल्दै जाँदा त्यसको चमक मधुरो हुँदै गयो र अन्त्यमा त्यो एउटा साधारण ढुङ्गामा परिणत भयो । अघोरी त धेरै पर पुगिसकेका थिए । मेरो मुटु ढुकढुक भयो, पछुतोले शरीर जल्यो । क्रोधले आँखा राताराता भए । ​म स्तब्ध भइरहेकै बेला अघोरी अचानक फेरि प्रकट भए । उनले मेरो हातबाट त्यो ढुङ्गा थुते र शान्त भावमा भने, “मूर्खलाई झुक्याउनु ठूलो कुरा होइन मास्टरजी, तर आफैँ मूर्ख बनेर अरूको नियत बुझ्नु चाहिँ महान् चातुर्य हो ।” ​म ट्वाल्ल परेँ । उनले मेरा गहनाहरू फिर्ता दिँदै थपे, “लिनुस् तपाईँका गहना, र अबदेखि यो लोभको ऐनामा आफ्नो अनुहार नहेर्नुहोला !”