
प्रमाेद नेपाल
काठमाडौँ – ५
“बाबा ! म पनि हजुरहरूसँग जान्छु ।” शिवकाे पशुपतिनाथ दर्शन गर्न जाने कुरा सुनेर पाँच वर्षकाे उसकाे छाेरा शिवांश नेपाली बाेलि अंग्रेजी लवजमा बाेलेर जिद्दी गर्दैथियाे।
शिव आफ्नो परिवारसँग अष्ट्रेलियाबाट तीन वर्षपछि नेपाल आएकाे छ। काठमाडौँकाे बसाइँकाे क्रममा प्रत्येक हिन्दू धर्मावलम्बीको पहिलाे प्राथमिकता नै आराध्यदेव पशुपतिनाथकाे दर्शन गर्ने रहन्छ। आज उनीहरू पनि त्यता जाने भनेर छलफल गर्दै गरेकाे शिवांशले सुनेकाे रहेछ।
“भिडभाड हुन्छ त्यसैले तिमी हजुरामासँग घरमै बस, हुन्न ?”
“नाईँ ! म पनि हजुरहरूसँगै पशुपतिनाथकाे दर्शन गर्न जान्छु ।” बुबाले लैजान्नन् कि भनेर रिसाउँदै भन्याे।
“ल बाबा ल! जाउलाउ नि त।”
“थैँक्यु बाबा !” बुबाले लैजाने भए भनेर ऊ खुसी जाहेर गर्दै थियाे।
सबैजना तयार हुन तिर लागे।
“नाईव ! म याे लुगा लगाउदिन, म त ‘नेपाल डे ‘ मा लगाएकाे लुगा लगाउछु ।”
उसकाे कुरा सुनेर जिल्लपर्दै शिवले साेध्याे ” कुन चाहिँ भन्या हाे बाबू ?”
“त्याे के, तलमाथि लेस भाकाे र ट्राउजर।”
“ए ! त्यसलाई दौरा सुरुवाल पाे त भन्छन् बाबू ।”
“यस ! त्यही भन्या क्या !” उसले आधा अंग्रेजी आधा नेपाली मिसाएर बाउ चाहिँकाे कुरामा सहमति जनायाे।
पशुपतिनाथकाे दर्शन गर्न सबै लामबद्ध भए।
शिव र परिवारका अन्य सदस्यले पशुपतिनाथलाई करबद्ध भै स्तुति गरे।
शिवांश खाेई ? भन्दै शिवले चारैतिर नजर घुमायाे तर देखेन।
ऊ अलि जाेडले करायाे “शिवांश !”
“म यहाँ छु बाबा ।” ऊ भुइँमा घुडामारेर भाेले बाबाकाे दर्शन गरिरहेकाे रहेछ।
अस्तु।





