विद्रोह


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“नानि तँलाई कति पटक भन्नुपर्छ पुरूषहरूको बिचमा नबोल भनेर सुन्दैन ?”- धनपतिले सुशीलालाई तानेर एकान्तमा सम्झाउँदै भने।
“तर बाबा उहाँहरूले गल्ति गर्दै हुनुहुन्थ्यो।”- सुशीलाले जानकारी गराउँदै भनी।
“तँ सानी छस् छोरी तँलाई भन्दा उनीहरूलाई बढी जानकारी हुनसक्छ । फेरी उनीहरू पुरूष हुन तँ एउटी केटी भएर उनीहरूको माझमा यसरी बोल्नु हुँदैनथ्यो।”- बाबा कसैले गल्ति गर्यो भने टुलुटुलु हेरिरहनु पनि त हुँदैन नि ! आफूलाई जानकारी भएको कुरा बोल्नु पर्छ।” सुशीला आफ्नै भनाइमा अडिइ।
“भो तँलाई सम्झाउन सकिन मैले आफू भन्दा ठूला बडाको मुखमुखै लाग्छेस् ? जब तँलाई मैले भने जसले गल्ति गर्छ उसैलाई सजाए मिल्छ ।”-धनपतिले उसलाई हकार्दै भने।
“उनीहरूलाई मात्र मिल्दैन बाबा कुनै गल्तिको सजाए अरूलाई पनि मिल्नसक्छ।”- सुशीला आफ्नै जिदमा अडिइ।
“हजुर बाउछोरी यतै कराएर बस्नु उता गाईको गोठमा आगो लागिसकेको थाहाछैन्।”- जम्कली चिच्याउँदै दौडी।” देख्नुभयो बाबा मैले के भनेकी  थिएँ नि ? अहिले बारीमा आगो नलगाउँ बतास चलेको छ भनेकी थिँए नि ?” सुशीलाले धनपति तिर हेर्दै भनी।
“धन्न गाई बाच्छा बन गएका थिए नत्र आज खरानी हुन्थे जलेर सबै।”- जम्कलीले उनीहरूतिर धारे हात लगाउँदै भनी।
“अब उनीहरूलाई धारे हात लगाएर के हुन्छ र बुढी म आफैँले गल्ति गरेँ। सुशीला छोरीको विरोधलाई विद्रोह सम्झेर हकार्न थालेँ। त्यही बेला उनीहरूले गहुँको ठुटीमा आगो लगाइदिए।”- धनपतिले पछुताउँदै भने।
“महिलाको सही कुरा पनि नसुन्दाको परिणाम हो यो।”- धनपति तिर हेर्दै जम्कलीले सुस्तरी भनी।