
देबी प्रसाद थापा’मामा’
मणिपुर
अफिसको कुर्सीमा बसेकी कर्मचारीले फाइल पल्टाउँदै भनिन्, “जम्मा एडमिशन फी पचास हजार ।”
खड्का झस्किए।
“दिदी… अलि कम हुँदैन ?” उनले विन्ती बिसाए।
“भाइ, गुणस्तर सस्तो हुँदैन,”उनले उत्तर दिइन्।”
खड्काले सर्वस्व बेचेर छोरालाई स्कुल भर्ना गरे।
दिन बित्दै गए। कहिले प्रोजेक्ट फी,कहिले पिकनिक फी,कहिले किताब परिवर्तन…..। यता घरमा दाल पातलिँदै गयो । उता स्कुलको बिल बाक्लिँदै गयो।
एकदिन छोराले एउटा कागज ल्यायो । लेखेको थियो – ‘नो फी,नो एक्जाम।’
त्यसपछि उनले बकस् खोले । त्यहाँ मात्र स्वास्नीका एक जोडी चुरा थिए।
उनी रातभरि निदाएनन्। केवल टाँगिएको छोराको स्कुले टाईतिर हेरिरहे।
उनलाई त्यो टाई टाईजस्तो पटक्कै लागेन…… ।





