खाजा


दुर्गा घिमिरे

“हेर न हेर दीपा त सधैँ घरकै रोटी-सब्जी बोकेर आउँछे। कस्ती पाखे ! कहिल्यै पसलको खाजा खाँदिन,” नम्रताले ओठ लेप्य्र्याउँदै भनी।
छेवैकी अर्की साथीले थपिन्, “हो त नि ! आफू त सधैँ क्यान्टिन र पसलकै चाउमिन, समोसा खाने हो। कस्तो स्वादिलो हुन्छ ! त्यो दीपालाई के थाहा बाहिरको स्वाद ? उल्टै हामीलाई नै स्वस्थ खाना खानुपर्छ भन्दै उपदेश दिन्छे।”​ दीपा उनीहरूका कुरा सुनेर मुसुक्क हाँस्सी मात्र, केही बोलिन।
केही महिनापछि, एकदिन विद्यालयमै नम्रताको पेट अचानक असाध्यै दुख्न थाल्यो। उनलाई तुरुन्तै अस्पताल पुर्याइयो। भिडियो एक्सरे र विभिन्न परीक्षणपछि डाक्टरले भने, “धेरै बाहिरको अस्वस्थकर र बजारिया तेलमा तारेको खानेकुरा खाएकाले आन्द्रामा सङ्क्रमण देखिएको छ। अबदेखि बजारको खानेकुरा पूर्ण रूपमा बन्द गर्नू।”
अस्पतालको बेडमा छटपटाइरहँदा नम्रताको आँखा अगाडि दीपाको उही उज्यालो अनुहार र घरको सफा खाजा झल्झली आयो। उनलाई आफ्नै अज्ञानतामाथि ग्लानि भयो।
निको भएर विद्यालय फर्किएकै दिन नम्रता सिधै दीपाकहाँ गइन् र भनिन्, “मलाई माफ गरिदेऊ दीपा, तिम्रो सही बानीलाई मैले गिज्याएकी थिएँ। अबदेखि म पनि कहिल्यै पसलको पत्रु खाना (जङ्क फुड) खाने छैन।”
दीपाले नम्रताको हात समात्दै भनी, “माफ माग्नुपर्दैन साथी, तिमीले स्वास्थ्यको महत्त्व बुझ्यौ, त्यही नै ठुलो कुरा हो।”