
हेमराज अधिकारी
सिक्किम,भारत
दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू हिलोमा खुट्टा गाडेर रोपाइँमा व्यस्त थिए। कतै पहिरोको डर, कतै बाढीको त्रास। प्राकृतिक प्रकोप असाध्यै थियो। सहरबाट केही दिनको बिदामा आएको छोरो आँगनमै उभिएर मोबाइल चलाउँदै थियो।
“बाबा, यति दुःख गरेर के पाइन्छ र ? चामल त बजारमा पाइहाल्छ। किनेर खाए भइहाल्यो नि!”
बुवाले हिलो लागेको हातले धानको मुठा बाँध्दै भने।
“त्यही सोचेर त आधा गाउँलेले खेत बाँझै छाडे। सबैलाई किनेर खाने बानी परेको छ।”
छोराले हाँस्दै फेरि भन्यो। “जमाना बदलियो, बाबा ! अहिले सबै कुरा पैसाले पाइन्छ।”
बुवाले आकाशतिर हेरे। झरी अझै परिरहेको थियो। “हो छोरा, पानीले बाली बगायो भने फेरि रोप्न सकिन्छ, पहिरोले खेत पुर्यो भने फेरि खन्न सकिन्छ। तर किनेर खाने परम्पराले किसान नै बगायो भने, बजारमा बेच्नलाई धान कसले उमार्ला ?”
छोरो चुप लाग्यो । त्यसै बेला मोबाइलमा सूचना आयो। “मेगा अफर ! मधेसको चामलमा ३० प्रतिशत छुट!”
बुवाले मुस्कुराउँदै भने। “हेर त, असारमा धान रोप्नेहरू घट्दै छन्, तर छुटमा चामल किन्नेहरू बढ्दै छन्। अब बुझ्दैछु, प्राकृतिक प्रकोप त सहन सकिँदो रहेछ, असली प्रकोप त खेतमा होइन, मान्छेको सोचमा परेको रहेछ। एउटा पुस्ता बिस्तारै बाँझिँदै छ । तँ जस्तै !





