योग


अम्बिका धिताल
भक्तपुर

“बुबा, योगले साँच्चै जीवन बदल्छ ?”
छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका बुबालाई सोध्यो।
बुबाले मुस्कुराउँदै भन्नुभयो, “जीवन बदल्ने योग हो कि मन बदल्ने योग हो, त्यो बुझ्नुपर्छ बाबु ।” छोराले फेरि प्रश्न गर्यो,”योग गर्ने मान्छेहरू त रिसाउँदैनन् भनेको सुनेको थिएँ। गाउँका ठुलामान्छेहरू पनि योग गर्छन् रे, अनि किन यति रिसाउँछन् बुबा ?” बुबाले आँखा खोल्दै भन्नुभयो,”शरीर मोड्नु र अहङ्कार मोड्नु एउटै कुरा होइन, बाबु।”
छोरा केहीबेर मौन रह्यो अनि बोल्यो, “अनि योग भनेको के हो त ?”
बुबाले आकाशतिर हेर्नुभयो । बादल र घामबिच द्वन्द्व चलिरहेको थियो।
“योग भनेको जोड हो। आफूलाई आफूभित्र जोड्ने कला।”
त्यसैबेला सडकबाट एउटा महँगो गाडी हुइँकियो। गाडीभित्रका एक चर्चित व्यक्ति मोबाइलमा कराउँदै थिए, “छिटो पैसा पठाऊ, नत्र सम्बन्ध सकियो।”
छोरा अचम्ममा पर्यो। “बुबा, उहाँ त हाम्रो देशको …. होइनन् र ?”
बुबा मुस्कुराउँदै बोल्नुभयो, “नामका .. मात्र भएर के हुन्छ ? नदीको चित्रले तिर्खा मेटाउँदैन।”
छोराले बुबालाई फेरि सोध्यो, “बुबा! सबैभन्दा ठुलो आसन कुन हो ?”
बुबाले प्राणायाम गर्दै भन्नुभयो, “आफ्नो स्वार्थबाट उठेर अरूको पीडामा बस्न सक्नु।”
छोरो गम्भीर बन्यो।‌ उसले बुबाको अनुहार हेर्यो। वर्षौँदेखि योग सिकाउने बुबा ह्विलचेयरमा हुनुहुन्थ्यो।
“बुबा, तपाईँ त हिँड्न पनि सक्नुहुन्न, अनि योगी कसरी हुनुभयो ?”
बुबाले टाढा क्षितिजतिर हेर्नुभयो । जहाँ उदाउँदै गरेको सूर्यले आकाशबाट उज्यालोको फूल फुलाइरहेको थियो। बुबा बोल्नुभयो, “मेरो खुट्टा दुर्घटनाले तोड्यो, बाबु… तर मैले मेरो मन तोड्न दिइनँ।”
छोरा निःशब्द भयो।
बुबा फेरि बोल्नुभयो, “संसारले योगलाई शरीर उठाउने कला ठान्यो, मैले त योगबाट भुइँमा लडेको आत्मा उठाएँ।”
छोरोले भन्यो, “ बुबा! सबैभन्दा कठिन आसन पद्मासन होइन, जस्तोसुकै परिस्थितिमा पनि उठ्न सक्नु रहेछ है ?”