
इन्दु उपाध्याय
हेलेम- मिसामारी, आसाम
विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही क्षणमै सरिता म्याम कक्षामा प्रवेश गर्नुभयो। विद्यालयभरि अनुशासनप्रिय र कडा शिक्षिकाको रूपमा परिचित उहाँको कक्षामा भने सधैँ असाधारण शान्ति छाउँथ्यो। अरू शिक्षकको कक्षामा कहिलेकाहीँ फुसफुसाहट सुनिन्थ्यो, तर सरिता म्यामको उपस्थितिमा सबै विद्यार्थी ध्यानपूर्वक पाठ सुन्ने गर्थे।
त्यो दिन उहाँले एभलिन ग्लेनीको प्रेरणादायी जीवनकथा पढाइरहनुभएको थियो। पाठ सकिएपछि उहाँले पुस्तक बन्द गर्नुभयो र विद्यार्थीतर्फ हेर्दै सोध्नुभयो, “ल भन त, एभलिन ग्लेनी अरू मानिसभन्दा किन फरक छिन् ?”
कक्षाको अगाडिको बेञ्चमा बसेको एक विद्यार्थी उत्साहित हुँदै उठ्यो।
“म्याम, उहाँ सुन्न सक्नुहुन्न। तर पनि हजारभन्दा बढी बाजा बजाउन सक्नुहुन्छ।”
सही उत्तर,” म्यामले मुस्कुराउँदै भन्नुभयो, “तर एउटा कुरा भन त, सुन्न नसक्ने मानिसले संगीत कसरी महशुस गर्न सक्छ ? हामीले उहाँको जीवनबाट वास्तवमा के सिक्नुपर्छ ?”
विद्यार्थीहरू एकअर्काको अनुहार हेर्न थाले। केहीबेरसम्म कसैले उत्तर दिन सकेनन्।
सरिता म्यामले आदर्शतर्फ हेर्दै भन्नुभयो, “ल, आदर्श! तिमी भन त।”
आदर्श बिस्तारै उठ्यो। उसले केही क्षण सोच्यो अनि भन्यो, “म्याम, एभलिन ग्लेनीले आफ्नो कमजोरीलाई हारको कारण बनाइनन्। उहाँले सीमिततालाई चुनौती दिनुभयो र आफ्नो लक्ष्यप्रति दृढ रहनुभयो। त्यसैले असम्भवजस्तो देखिने कुरा पनि सम्भव भयो।”
सरिता म्यामको अनुहार उज्यालियो। “ठीक यही कुरा म तिमीहरूबाट सुन्न चाहन्थेँ,” उहाँले भन्नुभयो। “शिक्षा भनेको पाठ कण्ठ गरेर परीक्षामा लेख्नु मात्र होइन। शिक्षा भनेको सिकेका कुरालाई जीवनमा उतार्नु हो।”
त्यत्तिकैमा पछाडिबाट एक विद्यार्थीको आवाज आयो, “तर म्याम, हाम्रो शिक्षा प्रणाली त अंक र परीक्षामै केन्द्रित छ नि!”
तिमीले भनेको कुरा गलत होइन। तर परिवर्तनको सुरुवात कसैले बाहिरबाट गरिदिँदैन। परिवर्तन त तिमीहरूजस्ता विद्यार्थीले नै ल्याउने हो। विद्यालयमा पढेका पाठ जीवनसँग जोड्न सके मात्र शिक्षाको वास्तविक मूल्य हुन्छ।”
उहाँले फेरि एभलिन ग्लेनीको प्रसङ्ग जोड्नुभयो।
“हेर, उहाँले हामीलाई एउटा अमूल्य पाठ सिकाउनुभएको छ—परिस्थिति जति कठिन भए पनि दृढ संकल्प भएको मानिसलाई सफल हुनबाट कसैले रोक्न सक्दैन। यदि तिमीहरूले प्रत्येक पाठबाट यस्तै जीवनोपयोगी शिक्षा लिन सिक्यौ भने राम्रो अंक त आफैँ आउँछ, तर त्यसभन्दा ठूलो कुरा, तिमीहरू असल मानिस बन्नेछौ।”
कक्षाभरि गहिरो सन्नाटा छायो। सबै विद्यार्थी सरिता म्यामका शब्दहरूमा डुबेका थिए। आज उनीहरूले पाठ्यपुस्तकको एउटा अध्याय मात्र होइन, जीवनको एउटा महत्वपूर्ण सत्य पनि बुझेका थिए।
घण्टी बज्यो। विद्यार्थीहरू बाहिर निस्कन थाले। सरिता म्याम भने केही क्षण कक्षामै उभिइरहनुभयो। झ्यालबाट बाहिर हेर्दै उहाँले मनमनै सोच्नुभयो— “यदि हाम्रा विद्यार्थीहरूले शिक्षाको वास्तविक अर्थ बुझ्न सके भने, देश बदलिन धेरै समय लाग्ने थिएन।”
उहाँको अनुहारमा सन्तुष्टिको हल्का मुस्कान फैलियो। भविष्यप्रतिको आशा अझ बलियो बनेको थियो।





