“असार”


देव भट्टराई

आयो असार महिना खुश छन् किसान।
फर्केर आउँछ भनी सुखको बिहान॥
बेकार राख्छ कसले ? दुखको हिसाब।
निष्पक्ष गर्छ विधिले श्रमको निसाफ॥

आमा-समान धरती छ अकास साक्षी।
अर्को प्रमाण म दिऊँ नव के र बाँकी?
दर्किन्छ दर्र जल बादलको सिँचाइ।
थोपा बने कृषकका मुखका मिठाई॥

रोपेर मानु जरुरी छ मुरी उमार्नु।
सन्तान पाल्नुछ सँगै सपना सपार्नु॥
आशा हरेक मनमा घरमा चटारो।
मेला र पात नगई नहुने हतारो॥

अर्को अचम्म छ उता पिर बाउसेको।
रोपाइँमा प्रियतमा कि नआउँने हो॥
गाएर गीत उनले लयमा असारे।
तान्छिन् उतैतिर सबै वयका नजारे॥

बेठी लगाउँन भनी कसिए ठुलाबा।
खोजेर गोरु हल नौ घरका अलावा॥
आमा भतेरतिरको सुरसार गर्दै।
जोहो गरेर घिउ, चामल, दाल भर्दै॥

नष्टै गरे ढुकुरले भटमास बाली।
बुच्चा भए मनसँगै सब खेतआली॥
साझा रहेछ धरती पिरती सबैको-।
पालेरबस्नु घटिया रिसराग के को?

सन्तानको छ जतिको उतिकै छ मायाँ।
पानी र प्रेम मलखाद दिएर छाया॥
हुर्काउँछन् कृषकले दुखकष्ट खेपी।
ध्याउन्न गर्न नसके त हुँदैन खेती॥