
गीताश्री शर्मा
गान्तोक, सिक्किम
प्रदुषणमुक्त गाउँ शान्तिनगर जसलाई सूर्यको पहिलो किरणले छुनेगर्छ । सूर्यको पहिलो स्पर्शदेखि अस्तसम्मका किरण पाएर हुनसक्छ नाम जस्तै शान्त छ शान्तिनगर । सफा हावा, शुद्ध पिउने पानी, स्वच्छ वातावरण, जैविक साग सब्जी र सुन्दर मनका धनीहरूको बास छ यहाँ ।
शान्तिनगरको मुटुमै छ रानुको सानु घर । वरिपरि आफ्नै हातले लगाएका फूल र बोट-विरुवा छन्, लटरम्म फलेका मौसमी फल अनि फूलहरू सित न्यानो सम्बन्ध छ उनको । सानै देखि रानु आफन्त भन्दा प्रकृतिसँग साइनोगाँस्न असाध्य रुचाउँछिन् ।
पति र दुई छोरा सहित सासु-ससुराकी धनी रानुका छोराहरू उच्च शिक्षाको निम्ति घर बाहिर छन् ।
आफू रित्तिएर अरूलाई खुसी पार्ने रानुको एउटा राम्रो/ नराम्रो बानी छ। आफू पोखिएर अरूको खुसीमा तल्लिन हुदाँ, पारिवारिक जिम्मेवारी वहन गर्दा गर्दै पनि यदाकदा के के कुराले ठेस लागिरहेको हुनेगर्दछ, तर उनी देखाउँदिनन् । यो उनको महान्ता हो या कमजोरी कस्लाई सोध्ने ?
जीवनको ताँदो कहिले यता कस्दा उता खुस्किन्छ उता कस्दा यता। आफू घोप्टिएर अरुको मुहारमा हाँसो उठाउन खोज्ने हुँदा कहिले काहीँ नितान्त एक्लो महशुस हुन्छ उनलाई। सायद जीवन यही होला ! आफैँ मन बुझाउँछिन् रानु ।
जब उनी आफूलाई एक्लो महशुस भएको ठान्छिन् तब कोठेबारीमा गएर रुख र वरपरको प्रकृतिसँग रमाउँछिन् । यसै क्रममा अचानक एक दिन बडरको रूखमा मैना चरीले गुँड लाउँदै गरेको दृश्य देखिन । सानासाना त्यान्द्रातुन्द्री ल्याएर चरीले आफ्नो न्यानो अट्टालिका तयारगर्दै गरेको देखिन । निकै दिनपछि आफ्नी आमा चारो लिएर आउँदा चराका बचेराहरू चाँ-चाँ-चूँ-चूँ गरेको सुनिन्, रानु आफैँमा रमाइन्। आज-भोलि गर्दागर्दै बचेराहरू डाली डाली नाँच्न-खेल्न थाले । रानु खुशीले गद्गद् भइन् । खै ! किन हो जीवनमा पहिलोपल्ट उनले यति ठूलो खुशी महशुस गरिन् ।
बच्चाहरूको हल्ला र कोलाहल गुँडबाट आफैँ हराउँदै गयो, गुँड रित्तै भयो, मैनाचरी फेरी एक्लै देखिन थालिन्। कोही बेला अर्को चरो गुँडमा आउँथ्यो र जान्थ्यो। उनले सोचिन ! एक्ली चरिको जीवनमा फेरी खुशी फर्कनेछ। रानुको मनमा सकारात्मक उर्जा बड्यो तर अचानक उनकी चरी हराइन, रानुको मनको खुसी हरायो।
रानुले मनमनै सोचिन- यति सुन्दर र शान्त प्रकृतिको काखमा सबै खुशी होलान् भन्ने मेरो सोच भ्रम मात्र रहेछ, सायद सबैको खुशीको आयु छोटो र सीमित हुँदोरहेछ!





