हलो

सालिक राम सत्याल
बाँके ३ खजुरा
हाल = मलेसिया

बाजे हलो किन धुलोले छोपिएको ?
नातिले गोठको दलिनमुनि झुन्डिएको पुरानो हलोतिर औँला देखायो।
बाजेले हलोतिर एकटक हेरे। आँखाको डिलमा अड्किएको वर्षौँको पीडा लुकाउँदै उनले लामो सास फेरे।
“जोत्ने हातहरू गाउँमा छैनन् बाबु।”
कहाँ गए त ?
“कतिले परदेश समाते कतिले कुर्सी।”
नातिले बाजेको अनुहार हेर्यो। उसले परदेश को अर्थ अलिअलि बुझ्थ्यो तर कुर्सी ले कसरी मानिसलाई गाउँबाट टाढा लैजान्छ भन्ने बुझ्न सकेन।
ऊ आँगनबाहिर दौडियो।
चौतारोमा चुनावी सभा चलिरहेको थियो। मञ्चमाथि उभिएका नेताले दुवै हात हल्लाउँदै गर्जिरहेका थिए
“हामी गाउँ बदल्छौँ! खेतमा सुन फलाउँछौँ !”
तालीको गडगडाहटसँगै झण्डाहरू हावामा फर्फराए। नाराले गाउँको आकाश गुन्जियो।
साँझ बाजेले नातिको हात समाए र खेततिर लागे।
डिल भत्किएको थियो। कान्लाभरि झार फस्टाएको थियो। कुलो पुरिएको थियो। खेतको बीचमा हलोभन्दा अग्लो सिस्नो उभिएको थियो।
बाजे यहाँ त धान होइन झार उम्रिएछ !
बाजेले गोठबाट बोकेर ल्याएको हलोको फालीमा टाँसिएको पुरानो माटो बिस्तारै कोट्याए।
“खेतले मालिकको पाइला चिन्छ बाबु। भाषणको आवाजले बाली उम्रिँदैन।”
नातिले हलोको जुवातिर हेर्दै फेरि सोध्यो, अनि बाजे यो हलो फेरि कहिले चल्छ ?
बाजेले क्षितिजतिर अस्ताउँदै गरेको घाम हेरे। टाढाबाट चुनावी नारा अझै सुनिइरहेको थियो
समृद्ध गाउँ! सुखी किसान !
बाजेले नातिको काँधमा हात राखे। उनको स्वरमा वर्षौँको थकान मिसिएको थियो “जुन दिन कुर्सीले माटोलाई सम्झिन्छ त्यही दिन खेतमा फेरि हलो चल्छ।”
केही बेर नाति मौन रह्यो। त्यसपछि उसले हलोको हत्ता समात्दै भन्यो, “कुर्सीले माटो सम्झिन ढिलो गर्यो भने म नै यो हलो चलाउँछु बाजे।”
बाजेको ओठमा ओइलाएको मुस्कान फेरि फुल्यो। उनले नातिको सानो हातमाथि आफ्नो काँपिरहेको हात राखे।
त्यसै बेला पश्चिमतिर अस्ताउँदै गरेको घामको अन्तिम किरण बाँझो खेतमा पर्माटो मौन थियो तर त्यसको काखमा फेरि हलो चल्ने आशा पलाइसकेको थियो।