परिस्थिति


सुमन कडरिया,
चितवन

“बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?”
गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले रोक्यो।
“किन यस्तो सोध्यौ बाबु ?”- उनले झस्किएझैँ गरेर सोधे ।
छोराले आज विद्यालयमा भएको घटना सुनायो, “सरले कक्षामा ‘झुटो बोल्नु हुँदैन’ भनेर पढाउनुभयो। तर उहाँले नै हेडसरसँग झुटो बोल्नुभयो।”
“के भन्नुभयो र ?”
“आज कक्षामा सबै विद्यार्थी उपस्थित थिए भन्नुभयो। तर दुईजना साथी त विद्यालय आएकै थिएनन्।”
बाबाले सहज हुँदै भने, “सायद हेडसरको गालीबाट बच्नलाई होला।”
छोरा केही बेर चुप लाग्यो। अनि अचानक सोध्यो, “बाबा, हिजो तपाईँले पनि फोनमा ‘म बजारमा छु’ भन्नुभएको होइन र ? तपाईँ त घरमै हुनुहुन्थ्यो।”
बाबाको कलम रोकियो।
केही बेरको मौनतापछि उनले भने, “परिस्थिति त्यस्तै थियो बाबु !”
उसले बाबाको अनुहारमा पुलुक्क हेर्यो र सोध्यो – “अनि ठूला मान्छेले चैँ झुटो बोल्नु हुन्छ ?”