“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी

भोक शोक रोगका गरी निदान राम्ररी
बालबालिका खुसी बनाउँदै सधैँभरि
शैलझैँ खडा भई प्रसन्न माथ यी चुमून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।

कष्टका पहाडमा र फाँटमा चढे झरे
कर्मले किसान ती तथापि भावना पढे
नाम काम रामकै समान देख्न चाह छन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।

योग्य पात्र होस् तथा अखण्ड साधना गरोस्
भाग्य लेख्नमा मसी स्वधर्मको अझै बहोस्
नाम राख्न भूमिको सिकाउँदै कला भरून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।

देवता ठुला उनै सजन्म पालना गरे
ज्ञानको प्रभा दियो जगाउने निधो गरे
काम काज योजना अझै नवीनता थपून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।

नीतिमा अगाडि होस् र अर्थमा अगाडि होस्
राज्यको विकासका निमित्तमा लडी रहोस्
बिग्रियो कतै भने सुझाव ती दिँदै गरून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।