
लक्ष्मी रिजाल
पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत डुबाउँथ्यो, घर भत्काउँथ्यो ।
“यो नदी हाम्रो शत्रु हो,” चौतारोमा बसेका बूढा हरिले भने । त्यही बेला विद्यालयकी शिक्षिका माया आइन्- “नदी शत्रु होइन, हामीले बाटो छेकिदिएका हौँ,” उनले भनिन्, “किनार अतिक्रमण गर्यौँ, खोल्सा पुर्यौँ, वन फँडानी गर्यौँ । अब नदीले आफ्नो बाटो खोज्दा दोष नदीलाई ?”
गाउँले चुप लागे । त्यसपछि मायाले एउटा प्रस्ताव राखिन्- नदीकिनारमा वृक्षरोपण गर्ने, पुरिएका खोल्सा खोल्ने, पानी बग्ने प्राकृतिक बाटो नछेक्ने र बाढीको पानी थुन्ने साना पोखरी बनाउने ।
यस वर्ष ठूलो वर्षा भयो । नदी फेरि उर्लियो । तर यसपटक गाउँ डुबेन । बाढीको केही पानी पोखरीमा जम्मा भयो, केही सिँचाइका कुलो हुँदै खेतमा पुग्यो । बाढीपछि खेतमा जमेको मलिलो माटोले धान झन् सप्रियो।
हरिले नदीतिर हेर्दै मुस्कुराए- “हामीले शत्रु ठानेको यही पानी त हाम्रो खेतको मित्र पो रहेछ !”
मायाले भनिन्, “प्रकृतिलाई जित्न खोज्दा विपत्ति जन्मिन्छ; प्रकृतिसँग मिलेर बाँच्न सिक्दा त्यही विपत्ति वरदान बन्छ ।”
त्यस वर्ष गाउँलेहरूले नदीलाई बाँधेर होइन, बुझेर जोगाए । र गाउँको प्रवेशद्वारमा एउटा वाक्य लेखियो- “बाढीलाई रोक्ने होइन, उसको बाटो मिलाउने हो; पानीलाई शत्रु होइन, जीवनको मित्र बनाउने हो ।”





