
महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर
“साच्चै डरलाग्दो बाढी । अकस्मात् अनि अकल्पनीय । सम्झदा पनि आङ सिरिङ्ग हुन्छ।” चियाको चुस्की लिदै एउटा साथी बोल्यो। तीनजना साथीहरु एउटा चिया पसलमा भरखरै गएको बाढीको कुरा गर्दै थिए।
“यो भन्दा बढता के हुन्छ ? हजारौँको ज्यान गयो खरबौँको सम्पत्ति स्वाहा भयो।” अर्कोले थप्यो।
“ए! साच्चै तिमीहरुले देख्यौ ?” तेस्रो व्यक्तिले सबैको ध्यान आकर्षित गर्दै बोल्यो।
“के ?” आश्चर्य मान्दै दुबैले एकैपल्ट प्रश्न गरे।
“दुई बस्ती जोड्ने त्यो पक्की पुल, जो अति नै मजबुत मानिन्थ्यो र जसले सबैलाई एकै सुत्रमा बाँधेको थियो, यसरी बगायो, मानौँ त्यहाँ कुनै पुल थिएन। पहिले यी दुई बस्ती एकै गाँउमा थिए भन्ने कल्पना पनि गर्न नसकिने भयो।” उसले आश्चर्य चिर्दै भन्यो। छेउको कुर्सीमा बसेर चिया पिउँदै तिनीहरूको कुरा सुनिरहेका बृद्धले सोधे, “बाबु तिमीले पुल बगाएको देख्यौ?”
तेस्रो ब्यक्तिले जवाफ दियो, “हो त, मोवाइलमा देखिरहेको छ त !”
“तिमीले दुई गाउँ जोड्ने पुल बगाएको त देख्यौ,जो फेरि जसो तसो बनाइएला तर दुई मुटु जोड्ने कहिल्यै बनाउन नसकिने पुल बगाएको देखेनौ? त्यो चैँ मोवाइलले देखाउदैन ?” बृद्धले भारी मन लगाएर सोधे।
“बा! के कुरा गर्नु भएको ?” पहिलो व्यक्तिले सोध्यो।
“इन्जिनियर भएको हाम्रो एकमात्र छोरो।” बृद्धले गहभरी आँसु पार्दै भक्कानिए। उनको गला अवरुद्ध भयो।





