
रोहिणि रसिक
आफ्नै बगैँचाभरि लालुपाते
गोदाबरी फूल फुले मजाले
खोज्लान् र को इङ्लिस फूल किन्न
पारेर आफ्नै भुइँफूल खिन्न।
आफ्नै चमेलीसित मग्मगाई
मर्काउदैं कम्मर नाच्न जान्ने
नाच्लान् र को इङ्लिस गीत गाई
पारेर आफ्नै भुइँ गीत खिन्न।
चर्खा घुमाएर यहीँ बुनेका
बिर्सेर आफ्नै सिपले उनेका
हिँड्लान् र को इङ्लिस वस्त्र किन्न
पारेर दौरा सुरुवाल खिन्न।
संस्कार भाषा परिवेश गाढा
बुझ्नेहरू देश महत्त्वपूर्ण
जालान् र को देश भुलेर टाढा
पारेर माटो र समाज खिन्न।
परोपकारी युग लेख्न सक्ने
भविष्य भन्दा पर देख्न सक्ने
सक्लान् र को बस्न बनेर झुम्म
आफ्नै बनाई मन छिन्नभिन्न।
आफ्नै उज्यालोसित खेल्नलाई
पाए भने बाँच्न स्वतन्त्र खाई
गर्लान् र को इङ्लिस बोल्न यत्न
पारेर भाषा हरबार खिन्न।
आफ्नै कला धर्म सहिष्णुतामा
अफ्नै सके हिड्न स्वयम् बुतामा
बस्लान् र को आस गरी उताको
पारेर आशा प्रतिबार खिन्न।
आदर्शले व्योमित व्यूहबाट
थाल्यो भन्ने छर्न सधैँ प्रकाश
पर्दैन खोज्नै सुख जानु अन्त
पारेर माटो परिवार खिन्न।





