“दर”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

चेली माइतमा आज गर्छन् खूब रमाइलो।
हाँसो खुशी छरेका छन् मनमा छ घमाइलो॥

दर मीठा बनेका छन् फुर्छन् गीत झनै मिठा।
नाच गान बजाईले गर्न थाले जमाइलो॥

भैँसीको दूध घोटेर बन्यो मीठो कुराउनी।
घिउमा झिनुवा दूध ढकनी भो’ बसाउनी॥

पोलेका हेर ती तामा तरकारी भुटी भुटी।
आलु काँक्रा र मूलाका अचार चटनी जुटी॥

कतै खाजा कतै खीर खुवा कुराउनी कतै।
तरकारीहरू मीठा अचार चटनी कतै॥

फलफूल जुटेका छन् छन् सलाद मीठा कति।
दर खान जुटेका छन् खान्छन् खूब सकेजति॥

हाँस्छन् हँसाउँछन् नाच्छन् गाई बजाई रङ्गले।
हेर्छन् हेर्नेहरू हेरी पर्छन् आनन्द दङ्गले॥

बाधा व्यथा सबै बिर्सी भय पीडा भुलीकन।
तीजका नचरी नाच्छन् बस्छन् हाँसी रमीकन॥