
संजिता भट्टराई
धनगढीमाई,सिरहा
गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन पुग्छ । सोहर्न छाडेर उनी बाहिर निस्कन्छिन् ।
तीजको लहरमा सजिएका छिमेकी महिलाहरू उहीँ थिए ।
“हेर् त, तीजको दर खाने दिनमा पनि यसको बिजोग!” चमेली खिसी गर्दै भन्छिन्, “हामी त पार्लर धाएर पो आएका!”
अर्कीले पाँच हजारको नयाँ साडीको सान देखाउँछे । दुवैका चमकधमक र फुइँसामु गर्छन् । जुनेली भने निरुत्तर उभिएर टोलाइरहन्छिन् ।
उनीहरूका गहना र सिँगारले भन्दा बढी उनीहरूको व्यङ्ग्यले जुनेलीको मन चस्स दुख्छ ।
नेपथ्यबाट सासूको कडा स्वर घन्किन्छ, “ए जुनेली ! कता मरी यो ? भक्कारो सोहर्न छाडेर !”
छक्क पर्दै उनी होस फर्केझैँ बिस्तारै गोठभित्र छिर्छिन् । आफू पसिनाले भिजेको हत्केलाले आफ्नै उराठ लाग्दो र फुस्रो निधार सुमसुम्याउँछिन् । अनि, भाग्य र कर्मको लेखा सम्झिँदै, आफ्ना सारा पिर-व्यथालाई दबाएर अगाडिको चिसो भित्तामा विस्तारै निधार ठोक्छिन् ।





