
शान्ति सापकोटा
तिमी सास मेरा तिमी आस मेरा
म आमा भएरै तिमी खास मेरा
तिमी बोल मात्रै म सङ्गीत दिन्छु
सदा प्रेमको तारले बेरिदिन्छु।
पकाएर, माया खन्याएर राख्छु
कुनै कल्पनामा डुबी रात जाग्छु
तिमी आउनेछौ भनी हेर्छु बाटो
नहेर्दा तिमीले यता पर्छ गाँठो।
हुँदैनन् सबै रातमा जून बल्ने
हुँदैनन् सबै वोटमा फूल फुल्ने
म सम्झन्छु जैले उही बाल बोली
ठुला भैसक्यौ है तिमी आजभोलि!
तिमी ख्वाक्क गर्दा दुखेको छ छाती
र पानी तताएँ उठी मध्य राति
छ सुन्नै हतारो तिमी आसपास
नसम्झी निलेको कुनै छैन गास।
मलाई कुनै भेट यस्तो दिलाऊ
र ए ! बाबु -नानी दया गर्न आऊ
कुनै मन्त्र होला ? कि यो भ्रान्ति काट्ने
जगत् प्रेमको जिन्दगीबाट हट्ने।





