
श्रीप्रसाद पोखरेल
इटहरी, सुनसरी
“हन ! के गरेकी ? सानी ! हजुरआमाले नातिनीलाई सोधिन् । “कुराउनी पकाएकी ।” स्वस्तीकाले भनिन् । “त्यसको पनि कुराउनी हुन्छ त ? भोलि बिहान क्वाँटी पकाउने दाउरा पनि सिध्याइछ ।” हजुरआमाले गनगन गर्दै दाउरामा पानी हालिदिइन् । स्वस्तीका रुँदै आमासँग गइन् । सारीको सप्को हाल्दै, “हिजो मात्र खाएको हैन कुराउनी ? दिनै कुराउनी पकाउने दुध कहाँ पाउनु ?” आमाले भनिन् । चोसो पसार्दै स्वस्तीकाले भनिन्, “अँ ! पाक्न आँटेको थियो । हजुरआमाले चुलोमा पानी हालिदिनु भयो ।” हाँसो मिश्रित स्वरमा आमाले भनिन्, “के को कुराउनी पकाउदै थिइस् ?” रुन्चे स्वरमा स्वस्तीकाले भनिन्, “पानीको नि ।” “धत् ! लाटी पानीको पनि कुराउनी हुन्छ त ?” अचम्म भावमा स्वस्तीकाले सोधी, “पानीको किन कुराउनी हुँदैन आमा ?” “राम्रो दुधमा लगभग २० प्रतिशत चिल्लो पदार्थ (फ्याट) हुन्छ । तताउँदा तताउँदा त्यही चिल्लो पदार्थ मात्र बाँकी रहन्छ र कुराउनी भएको हो । बुझ्यौ अब ?” “पानीको चाहिँ किन कुराउनी हुँदैन त ?” बाल जिज्ञासा पूनः आयो । छोरीलाई आश्वस्त पार्दै आमाले भनिन् “किनकि पानीमा चिल्लो पदार्थ हुँदैन ।”





