
मिसु श्रेष्ठ
काँडाघारी , काठमाडौं
छोरा नेपाली पढ्दै थियोे। उसलाई कति शब्द उच्चारण गर्न नै आएन। आमा अघि सर्दै सघाइन्। ऊ दिक्क भएर पढ्न नै छाडिदियो। आमा कराइन्।
“मलाई नेपाली पढ्न कर नलगाउनुस् ममी। इङ्लिस राम्रो भए भइहाल्यो नि! साइन्स पढ्नलाई नेपाली चाहिने होइन त! फेरि बाह्र पास भएपछि विदेश जाने त हो नि!” ऊ दिक्कारी बोल्यो।
“भाषा हाम्रो पहिचान हो। यसलाई जोगाउन राम्रोसँग लेख्न पढ्न जान्नु्पर्छ। फेरि पास हुन पनि त गाह्राे होला!”आमाले सम्झाइन्।
“ममी मैले जति पढ्न नसक्ने साथीले पनि एघार पास गरिहाल्यो त ! ” उसले सफाई पेश गर्यो।
उनी दिक्क भएर छोरीकहाँ गइन्। छोरीको पठन पनि उनलाई सन्तोषजनक लागेन। सम्झाइन्।
छोरी हाँस्दै बनिन् – “मामु पढ्दै छु भर्खर त नाइन् क्लासमा पुगेँ । म त पोलिटिकल साइन्स पढूँ कि कसो ? मन्त्री हुने अपर्चुनिटि पनि पाइने। देशको सेवा पनि गरिने ।”
“यस्तै पढाइले त खै छोरी?” आमाले आशङ्का व्यक्त गरिन्।
“भाषण पढ्न नजान्ने पनि सभासद हुन पाइने रहेछ नि!सुन्नु भएन भाइरल भाषण? सिसि होकि,सिसिइ भन्दै थिए एस्इइलाई!”
छोरीले व्यङ्ग्यात्मक पारामा बोली।





