
राजन कार्की (पाजु)
धरान -१३सुनसरी
पानी लिन जाँदा पँधेरामा रमा र विद्याको संयोगबस भेट भो!
बसेर एक छिन सुख दुख ऐश ऐश्वर्यका गफ हुन थाले!
गाउँ घरमा बसेर गफ गर्ने फुर्सद नहुने ! पँधेरामा भेट हुँदा गफिने यो एकमात्र अवसर थ्यो गाउँका महिलाहरूका लागी।।
यतिकैमा फुलमती पनि आइपुगी, “ओहो !दिदीहरु पनि आउनुभएको रैछ, कतिखेर आउनु भो ?” गाग्री भैमा राख्दै उनले भनिन।
“भर्खरै आएका हौँ!” आफ्नो भरिएको गाग्रो झिक्दै रमाले भनिन्।
के छ नि तिम्रो हाल चाल ? “विद्याले आफ्नो गाग्री थाप्दै फुलमती तिर इंगित गरिन्; “राम्रै छ दिदी !” गाग्री मस्काउँदै फुलमती बोलिन्।
यतिकैमा ” हेलो मम्! भन्दै विवेक आयो ! “ए बावु कहाँ हिडेको ?” रमाले भनिन्। “म फ्रेण्डस सँग गेम खेल्न हिडेको!” भन्दै विवेक गयो। “शहराँ बोर्डिङमा पढ्छ! हिजो मात्र आएको।” विद्या र फुलमती तिर फर्केर रमाले गर्बिलो हुँदै भनिन्।
यस्तैमा “मम्मी! म फ्रेण्ड्स सँग घुम्न हिडेको है!”
“चाडै आउनु है बावु घर!” विद्याले भनिन्। “ओके मम!” भन्दै सोहन गयो । “मेरो बावु ; शहराँ बोडर्स गरिदेको छु।” विद्याले ओजिलो हुँदै भनिन् । “लौ अब जाउँ होला!” फुलमतीले आफ्नो भरिएको गाग्री झिक्दै भनिन। यतिकैमा रमेश आइपुगो र गाग्री आफ्नो काँधमा राख्दै फुलमती तिर फर्किदै भन्यो ” हिड्नुस आमा घर जौँ!”
फुलमतीले भनिन्- “मेरो छोरो उ; गाउँकै स्कुलमा पढ्छ।”





