
लघुकथाकार : प्रा.डा. खेमराज खनाल
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी
“यो पटक त महँगो कुर्तासुरुवाल किन्दिनु है, राम्रो हुन्छ।” श्रीमतीले भनिन्। “हामी त आफैँ छान्छौँ लुगा । बाबाले सस्तो ल्याइदिनु हुन्च।” छोराछोरीले भने। मलाई निकै तनाव पर्यो। मुखको दसैँ, लुगा त किन्नै थियोे। दिमाग ख्याएँ। मेरो विद्यार्थीको ठुलै पसल थियो। मलाई मिलाएरै दिन्थ्यो। आफ्नो समस्या बताएँ। भनेँ, “बाबु, ठिक्कका कपडा किन्नु छ। दाम बढाएर भन है। हामी पछि मिलौँला।”
परिवार लिएर दोकान गएँ। श्रीमतीले महँगो लुगा हेरिन्। विद्यार्थीले मलाई आँखा झिम्क्यायो। म मुस्कुराएँ। छोराछोरीले नि महँगो महँगो छाने। आफूलाई सामान्य लुगा किनेँ। श्रीमतीले ओठ लेब्य्राइन्। भोलिपल्ट हाँसीखुसी पैसा तिरेँ। विद्यार्थी नि प्रसन्न भयो। श्रीमतीले मेरो कपडा यति महँगो भनेर छिमेकमा रवाफ छाँटिन्।





