
मोक्ष खतिवडा
बुद्धशान्ति-६ शान्तिनगर झापा
धनिराम दाइ गाउँकै हुनेखाने सम्पन्न मान्छे । जमाना अनुसार खेती साथै घरमा काम सघाउने कामदार राखेर बस्थे । उनका एक छोरो र एक छोरी गाउँका उभन्दा निम्न आर्थिक अवस्था भएकाहरू ऋण माग्न आउने गर्थे । प्रायः मान्छे रित्तो फर्कंन्थे। सिरान घरे ठूलेको छोरो मोहन र धनिराम दाइको छोरा श्याम कक्षा १२ मासँग सँगै पढ्थे । श्यामको पढाइको लागि ठुलै रकम खर्चन्थे ! श्याम पढाईमा अलि कमजोर थियो । एकदिन श्यामले बुवासँग मलाई स्कूलमा विज्ञानको सामाग्री किन्न चाहिएको भन्दै पच्चिस सय रुपैयाँ माग्यो।
जब पैसा भेट्यो स्कूल नै आइ नपुग्दै साथी मोहनलाई भन्यो ” ओ मोहन जाऊँ आज फिल्म हेर्न पैसा जति चाहिए पनि म बेहोर्छु। ” मोहन पढाईमा अब्बल थियो, पढाइको लोभ गर्थ्यो । जान नखोज्दा पनि जबर्जस्त लिएरै गयो।बिचरा सिरान घरे ठुले मोहनलाई दिनभरी अर्काको श्रम बेचेर पैसा जुटाउनु पर्थ्यो । श्याम दिनहुँ जसो नै स्कुल आउने बहानामा कहिले कता कहिले कता डुल्दै र बेलुका घर फर्कन्थ्यो । मोहन राम्रो ग्रेड ल्याएर १२ उतीर्ण भयो । श्याम भने परीक्षामा सामेल नै भएन । श्यामकी बहिनी पनि दश कक्षा पढ्दा पढ्दै घरमै बसेको कामदार टिपेर बाटो लागेकी थिई । मोहनले उच्च शिक्षा पनि राम्रो सँग गर्यो र ऊ अहिले एउटा बैङ्कको राम्रो जागिर खाँदैछ। धनिराम दाइको छोरो श्याम भने कुलतमा लागेर यति धेरै बिग्र्यो । सबै सम्पत्ति नै रित्याई दियो । धनिरामले गाउँमा कतै मुख देखाइसक्नु भएन।





