
महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर
”कान्छा काम पाईस त?”
बुवाले बि.टेक.पढेर विदेश पुगेको छोरालाई फोनमा सोधे।
”पाएँ बुवा” छोराले उताबाट बोल्यो।
”के काम गर्नु पर्छ त कान्छा ?”
”सार्वजनिक शौचालय सफा गर्ने ।”
यस्तो काम ? बाउले झस्कदै सोधे।
”हो बुवा। यता पाउने काम भनेकै यस्तै हो।” छोराले निन्याउरो पाराले उत्तर दियो।
”दिनमा कतिवटा शौचालय सफा गर्छस् त कान्छा ?” बाउले खिन्न हुँदै सोधे।
”बिहानै २५ वटा भरे दिउँसो २५ वटा” छोराले भन्यो।
”यति काम कति जना मिलेर गर्छौ ?” बाउले बिस्तृत बुझ्न खोजे।
”म एक्लैले हो बुवा” छोराले उत्तर दिए।
कुरा सुनिरहेकी आमा बोलिन, ”छिः छिः छिः के बोलेको बाबु ? बाहुनको छोरो, त्यत्रो पढेको। छोडिदे त्यस्तो काम।”
”होईन आमा म त कुर्सीमा बसेर कम्युटर चलाउछु, रोबर्टले मेरो आदेश अनुसार सफा गर्छ।”





