
राजन कार्की (पाजु)
धरान १३सुनसरी
खेल्न गएकी छोरी सितल रूदै आएकी देखेर सिमाले सोधी- ” के भयो किन रोएकी ?”
सितलले रुँदै भनी “मलाई रबिले पिट्यो !”
सितल र रवि दाजुभाइका एकै दामले छोरा छोरी , सँगै खेल्थे । करेसो जोडिएको घर भए पनि दाजुभाइको त्यति राम्रो सम्वन्ध थिएन ।
“हिजो पनि पिट्यो, हेर, आजपनि गाला रातो हुन्जेल पिटेछ ए ! तँलाई त्यो सँग नखेल भनेको हैन, आज पनि त्यहीँ पुगिस् अरु साथी थिएनन ?” उल्टै छोरीलाई झपार्दै जेठानी तिर इंगित गर्दै भनी, ” हैन यिनीहरुले किन यतिसारो हेपेका हँ ! यिनीहरूको झाँक्को नझारी भएन।”
सिमा छोरिलाई तान्दै विमलाको घर तिर फरियाँ सुर्कदै पुगी।
“ए दिदी! बाहिर निस्क ?” सिमा घर अगाडि पुगेर कुर्लीई।
“हैन फेरि के भो ? टोलै थर्किने गरि किन चिच्याकी !” देवरानीको कर्कस ध्वनी सुनेर विमला फरियाँको सप्कोले कम्मर कस्दै बाहिर निस्किई।
“के भो रे ? तिम्रो छोरोले हिजो मेरो छोरीलाई पिट्यो , आज पनि गालै रातो हुने गरी पिटेछ। यसरी सहन सकिन्न!आफ्नो छोरालाई ठिक ठाउँमा राख , नत्र ठिक हुन्न।” सिमाले चोर औँला ठड्याउँदै चुनौती दिई।
हल्ला सुनेर छिमेकीहरू पनि भेला भै सकेका थिए।
“राख्दिन! लु के गर्छेस् हेरौँत !” ऊ पनि के कम् , सिमाको मुखमा औँलो ठड्याउन पुगी।
तिलले पहाडको रूप लियो, हेर्दाहेर्दै दुबैजना कपाल लुच्छालुछ गर्न थाले।
“होइन ल हेर ! के भएका यी देवरानी जेठानी ! झगडा गर्न पो थालेछन्! हैन के भयो फेरी! ” माझाघरकी रम्भाले भिड पन्साउँदै आएर दुबैलाई छुटाउँदै भनीन्।
“विमलाको छोरोले सिमाको छोरीलाई पिट्यो रे, त्यसैको निहुँमा यी आमाहरु लुच्छालुछ गर्दैछन्।” भिडबाट कसैले भन्यो।
“अनि उनीहरू त खेल्दैछन् त!” रम्भाले आँगनको कुनातिर इंगित गर्दै भनीन्।
सबैको ध्यान तेतै सोझियो , जहाँ रवि र सितल मस्त खेलिरहेका थिए।





