
शुक्रराज कुँवर
बभद्रपथ,धरान १०
व्यापारमा चुर्लुम्म डुबे पछि अन्तत: ऊ विदेश उड्ने तरखर गर्दै थियो । साथी सुधीर विमानस्थल सम्म छोड्न भनेर आएको थियो ।
“यार सुधीर ! म जस्तो देशमा केही गरौँ भन्ने व्यक्ति समेत विदेश भासिनु पर्ने अवस्था आयो । नराम्ररी डुबियो व्यापारमा । व्यापार घाटा भन्दा पनि विदेशिनु परेकोमा अत्यन्त दु:खित छु ।” उसले भन्यो।
“विदेशमा राम्रै कमाइ होला नि त । सुधीरले ढाढस दियो।
“सरकार नै उस्तै छ । वर्षेनी अर्बोँ अर्बको व्यापार घाटा प्रस्तुत गर्छ सरकार । आयात मात्र छ , निर्यात केही छैन। त्यत्रो अथाह जलश्रोत छ , बिजुली निर्यात गर्न सकिन्थ्यो होला । अजस्र खनिज साधन , जडीबुटीहरु छन् त्यसमा आधारित उद्योगधन्दा सन्चालन गर्न सकिन्थ्यो होला । तराईमा उब्जाउ भूमि छ , आधुनिक तरिकाले खेती गर्न सकिन्छ । पहाडमा पशुपालन , फलफूल खेती आधुनिकरण गर्न सकिन्छ । हिमालकै पानी पनि ‘ स्प्रिङ वाटर ‘ को रुपमा बेच्न सकिन्छ । हन ! त्यत्रो आयात धान्न यो सरकारले के चाहिँ निर्यात गर्छ ? के चाहिँ गर्छ ? निकम्मा सरकार ।” उसले पीडा र आक्रोश एकै साथ व्यक्त गर्यो ।
” भो भो धेरै आक्रोश नदेखा । यहाँ यस्तै छ । विमानस्थल जान ढिलाइ भइसक्यो । ” सुधीरले हतारो लगायो।
दुबैजना समयमै विमानस्थल पुगे।
“आम्मामा ! यो के हो ? कुम्भमेला जस्तो मानवसागर ! सबै वैदेशिक रोजगारीमा जान लागेका ? विमानस्थलमा विदेश उडन लागेका हजारौँको भिडमा उभिएर उसले भन्यो।
“तेरो प्रश्नको जवाफ यहीँनेर छ साथी !सरकारले गर्ने भनेको निर्यात यही मानव निर्यात हो। तँ पनि निर्यात हुँदैछस्।” सुधीरले शालीनतापूर्वक भन्यो।





