रङ्गको मेल

होलीपर्व-२०८१ को शुभकामना


नन्दलाल आचार्य

“किन तिमी सधैं कालो रङमै रमाउँछौ ?” रमेशले सोध्यो।
कुना पस्ने राजु केहीबेर मौन रह्यो । त्यसपछि उसले टाउको उठायो, “किनकि सेतो मेरो भागमा कहिल्यै परेन।”
त्यो फागुपूर्णिमाको दिन थियो । गाउँका सबै जना रङ्गहरूमा रमाइरहेका थिए, तर राजु सधैंझैं एक कुनामा थियो । ऊ सधैं अरूको रमाइलो हेरिरहन्थ्यो, तर सहभागिता जनाउने हिम्मत गर्दैनथ्यो।
रमेशले हातभरि अबिर लिएर राजुको निधारमा लगाइदियो, “रङ्गहरू केवल गालामा होइन, मुटुमा पनि लगाउन सिक्नुपर्छ, राजु !”
राजुको आँखामा आश्चर्यको चमक थियो । ऊ पहिलो पटक पर्वको रङ्गमा घुल्दै थियो।
हर्ष र उमङ्गले भरिएको राजुको आवाज सुनियो,
“आजको मान्छेले मेटेन तर अबिरले भेदभाव मेट्यो।”