हर्षका आँसु


शान्ता तिम्सिना
भक्तपुर

“मलाई कपी, कलम र एउटा क्याल्कुलेटर किन्नु छ, पैसा दिनु त आमा !” विद्यालय जाने बेलामा छोराले भन्दै थियो।
“यही पैसा माग्न त मेरो छेउ आउँछस् नि ! पढाइ भने फिटिक्कै छैन!” उनले गाली गर्दै भनिन्।
“ह्या, छिटो दिनु न! मलाई ढिला भइसक्यो, पाँच मिनेट मात्र बाँकी छ।” पैसा लिएर ऊ दौडँदै विद्यालय गएको थियो।
“अब के गर्ने होला ? आजकाल छोराले पढ्नै छाड्यो, बुढा !” विदेशमा भएको बुढालाई उनले फोनमा भन्दै थिईन्।
“दिनभरि के गरेर बस्छ त ? विद्यालय जाँदैन ?” उनले आत्तिँदै सोधे।
“विद्यालय त जान्छ नि ! तर घर आएपछि मोबाइल मात्र चलाउँछ !” गुनासो पोख्दै गईन्।
“उसकै भविष्य सोचेर परदेश आएको छु, भोलिदेखि मोबाइल नदिनु ! म पनि सम्झाउँला उसलाई,” भन्दै उनले फोन काटे।
छोरो बिग्रेको खबरले उनी चिन्तित बने।
“यसपालिको जिल्ला स्तरीय परीक्षामा म प्रथम भएँ नि, बाबा !” छोराले भिडियो कल गर्दै भन्यो।
“मोबाइल मात्र चलाउँथिस् रे ! आमासँग कुनै पनि उत्तर सोध्दैनथिस् रे ! कसरी प्रथम हुन सकिस् त ?” आश्चर्यको भावमा उनले प्रश्न गरे।
“ल, बाबा पनि ! अचम्मको कुरा गर्नु हुन्छ,आजभोलि सबै उत्तर त गुगलले भन्दिहाल्छ नि!आमासँग किन सोध्ने ?”
उसले सहज रूपमा जवाफ दियो।
बाबाले केही भन्न सकेनन्। उनी गम्भीर बने। मोबाइलले छोरो बिग्रन्छ भनेर चिन्ता गरेका थिए, तर छोराले त प्रविधिलाई सही तरिकाले उपयोग गरिसकेको रह, ” बधाई छ, छोरा ! मोबाइल पुरानो भइसक्यो, अब म तिम्रो लागि ल्यापटप पठाइदिन्छु उनले फोन राखे।
एक्कासि छोराले दिएको खुसी सुनेर आमाका आँखामा हर्षका आँसु झरे। तर मनमा अर्को द्वन्द जाग्यो- के प्रविधि नै सबैथोक हो ? के छोरो अरू कुरा सिक्दै छ त ? के ऊ साँच्चै शिक्षित बन्दै छ, कि केवल उत्तरहरू मात्रै खोज्दै छ ?