“भूमिको श्राप”


गंगाराम ढकाल

गाउँका टाठाबाठा मास्टर चन्द्र प्रसादले गाउँको चोकपर्ने खेतलाई आँखा गाडेका थिए । एकदिन खेतधनीलाई सोधे “ए रिठे ,तिम्रो खेतमा धान, गहुँ कति फल्छ ?”
“मुस्किलले वर्षमा साठी मुरी धान, पाँच मुरी गहु हुन्छ हाेला ।” रिठेले जवाफ फर्कायो ।
“धत् लाटा ! बर्षभरि मेहनत गरेर जम्मा साठ्ठी मुरी धान मात्र । यति त काम नगरी बसेर पनि पैसा आउँछ” माष्टरले उक्साए ।
“कसरी ?” रिठेले सोध्यो ।
अहिले जग्गाले भाउ पाएकाे छ । जग्गा बेचेर पाएकाे रकम जति मुद्दती खातामा राख्याै भने बाह्रकाे व्याजदरले वार्षिक साठी हजार आउछ । त्यतिले तिम्रो परिवारले बसिबसि खान लाउन मात्रै हाेइन शानसँग घुमफिर गर्नपनि पुक्छ।”
“साठी हजार ….?” रिठे बर्बरायाे।
“हाे साठी हजार । त्यसकाे ग्यारेण्टी म दिन्छु । हेर आजभाेलि खेताला पाइन छाडे। टेक्टरले काम गर्नु पर्छ। टेक्टर जोताउन र ठ्रेसर लगाउँदा पटक पटक थुप्रै पैसा चाहिन्छ। तिमीसँग पैसा पनि छैन र काम गर्ने मान्छे पनि छैनन् भने खेतीबाट गुजारा हुँदैन।” चन्द्र प्रसादले भन्याे।
“तपाईँले भनेकाे कुरा ठिकै हाे ।” रिठेले एकबिघा खेत हुर्याईदियो । ऊ मनमनै साठी हजार गन्न थालेकाे थियाे। चन्द्र प्रसादले पनि दलाली वापत् पाउने हजारका दुईवटा गड्डीकाे प्याराे गन्ध महसुस गर्दै थियाे ।
केही बर्षपछि जग्गामा भटाभट घर बन्न थाले । जग्गाको मुल्य बढेर कठ्ठाको पाचास लाख पुग्यो । उता बजारमा खाधन्नको महंगाई बढ्यो । रिठेको पैसाले महिनाभर खान नपुग्ने भयो । आज उहीँ खेतको बाटो भरिया काम गर्दैछ । खेतमा हेर्दै टाउकोमा हात राख्दै भन्छ “यो खेतको श्राप लाग्यो मलाई ।”