“असिना”

 


गंगा खड्का

हेर्दाहेर्दै आकाशबाट
झर्यो असिना
कुनै थिए मोटामोटा
कुनै मसिना।

आँगनीमा निस्केर
टिपेँ राख्नलाई
कस्तो होला स्वाद त्यसको
भनी चाख्नलाई।

थालभरि टिपेर
दौडी आएँ पिँढीमा
चिप्लो थियो असाध्यै
चिप्लेँ सिँढीमा।

दुख्नुभन्दा मलाई
असिनाकै ध्यान
फेरि ओर्लेँ टिप्नलाई
दुख्दा पनि ज्यान।

थुप्रिएको थियो थुप्रो
असिनाको खात
रमाउँदै भिज्दै थिएँ
नसुनी कसैको बात।

धेरै बेर परेपछि
रोकियो झर्नलाई
पट्याङ्पुटुङ आवाज गर्दै
छोड्यो पर्नलाई।

पग्लिन थालेपछि
असिनाका दाना
गुच्चाजत्रा गेडा पनि
हुँदै गए साना।

थालभरिको असिना त
भइसकेछ पानी
कति छोटो आयु लिई
आइछिन् हिउँरानी!

बूढानीलकण्ठ , काठमाडौँ